स्वास्थ्य मन्त्री ढकालमाथि अख्तियारले छानबिन थाल्ने

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, चैत्र २१, २०७६

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यजन्य उपकरण खरिदमा अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालमाथि छानबिन प्रक्रिया अघि बढाउने भएको छ ।

अख्तियारमा ढकालविरुद्ध उजुरी परेपछि छानबिन अघि बढाइने भएको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार ढकालविरुद्ध उजुरी प्राप्त भइसकेकाले अब छानबिनका लागि आन्तरिक प्रक्रिया सुरु गरिनेछ ।

प्रवक्ता कोइरालाले भने, ‘अब आन्तरिक प्रक्रिया सुरु हुन्छ । उजुरीलाई सिस्टमले रिप्लाइ गरिसकेको छ ।’

ढकालविरुद्धको अनुसन्धान प्रक्रियालाई अघि बढाउने विषयमा अख्तियारले आन्तरिक छलफल थालेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्यमन्त्री ढकालविरुद्ध बुधबार अख्तियारमा उजुरी परेको थियो । विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेश सभा सदस्य रमेश पौडेलले मन्त्री ढकालविरुद्ध उजुरी दिएका थिए ।

उजुरीपत्रमा बजार दरभन्दा चार गुणासम्म महँगो पर्नेगरी मेडिकल सामग्री खरिद गरिएको उल्लेख छ । खरिद कार्य गर्न आफू निकटका व्यापारीलाई रातारात सेटिङ मिलाएको दाबी गरिएको छ ।

उजुरीपत्रमा मेडिकल सामग्री सप्लाइको अनुभव नै नभएको कम्पनीलाई तीन घन्टामै टेन्डर दिनुलाई अनियमितता भएको आधारका रूपमा लिन सकिने उल्लेख गरिएको छ ।

वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेसन स्वीकृत गरेको, विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेको र भरपर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएको (यापिड टेस्टिङ किट ७ करोडभन्दा बढीको लागतमा किनेको उजुरीपत्रमा दाबी गरिएको छ ।

स्वास्थ्य क्षेत्रको नेतृत्व गरेका स्वास्थ्यमन्त्री ढकालको कमजोरीका कारण स्वास्थ्यजन्य सामग्री सहज तरिकाले आपूर्ति हुन नसकेको भन्दै सर्वत्र विरोध भएको छ ।

विपद्को समयमा स्वास्थ्यजन्य सामग्रीहरू सहज रूपमा खरिद नहुँदा आमस्वास्थ्यकर्मी मारमा परेका छन् । अधिकांश प्रदेश र स्थानीय तहमा स्वास्थ्यकर्मी स्वास्थ्य सामग्रीबिना जोखिम मोल्दै काम गर्न बाध्य छन् ।