भारतीय सेनाध्यक्षको भनाइ खण्डन गर्न संसदीय समितिको निर्देशन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, जेष्ठ ५, २०७७

काठमाडौं- केही दिनअघि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले नेपालले लिपुलेकको मुद्दा अरू कसैको इशारामा उचालेको अभिव्यक्ति दिएसँगै संसदीय समितिले उक्त भनाइको खण्डन गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आइतबारको बैठकमा सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समितिले भारतीय अतिक्रमणमा परेको भूमिबारे भारतीय सेनाध्यक्षको अभिव्यक्तिलाई कूटनीतिक तहबाट खण्डन गर्न भनेको छ ।

भारतीय सेनाध्यक्षले गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्ति दिएको निष्कर्ष समितिले निकालेको छ ।

सत्तारूढ दल नेकपाका सांसद दीपकप्रकाश भट्टले सेनाध्यक्षको उक्त भनाइलाई सैन्य धम्की भएको बताउनुभएको छ ।

बैठकमा छलफलको क्रममा उहाँले ‘भारतले सीमाबारे सेना प्रमुखलाई बोलाएको छ । यो सैन्य धम्की हो । यसबारे नेपाल सरकार बोल्न पर्यो ।’ –भन्नुभयो ।

त्यस्तै नेकपाकै अर्का सांसद सुरेन्द्र (राम) कार्कीले भारतीय सेना प्रमुखको खण्डन अपरिहार्य भएको बताउनुभयो । ‘यो राजनीतिक विषय हो, यसबारे सरकारलाई राम्रै खण्डन गराउन लगाउन प¥यो’, बैठकमा उहाँले भन्नुभयो– ‘हाम्रो राजनीतिक नेतृत्व बोल्नु पर्यो । हामीले पनि आर्मीलाई बोल्न लगाउन भएन ।’