नेपालीलाई स्वदेश फर्काउने नीति बनाउन निर्देशन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, जेष्ठ ५, २०७७

 

काठमाडौं– प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विदेशमा रहेका नेपालीलाई फर्काउने स्पष्ट नीति बनाउन निर्देशन दिएको छ ।

आफ्नै खर्चमा फर्किन चाहने र अलपत्र परेकाको अलग–अलग विवरण संकलन गरी कार्यतालिका बनाएर स्वदेश फर्काउन सरकारलाई समितिले निर्देशन दिएको हो ।

नेपाल फर्काउँदा क्वरोन्टाइनमा राख्नेलगायतका सुरक्षाको प्रबन्ध मिलाउन पनि समितिले निर्देशन दिएको छ ।

नेपालीलाई हवाइजहाज, पानीजहाज वा स्थलमार्ग केबाट ल्याउने हो त्यसको समेत स्पष्ट नीति बनाउन निर्देशन दिइएको छ ।

स्वदेश फर्काउने व्यवस्था नभएसम्मका लागि सम्बन्धित देशसँग वार्ता गरी अलपत्र परेका नेपालीका लागि खाने–बस्ने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।

विदेशमा रहेका नेपालीका विषयमा सम्बन्धित देशलाई ठोस प्रस्ताव पठाउन पनि समितिले भनेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विदेशमा रहेका नेपालीको समस्या र गुनासोबारे नियमित जानकारी गराउन एउटा छुट्टै इकाइको गठन गर्न निर्देशन दिएको छ ।

यसै गरी समितिले भारतले नेपाली नागरिकलाई नेपाल धपाएर दुई देशबीचको सहमति तोडेको निष्कर्ष निकालेको छ ।

नेपालमा रहेका भारतीय नागरिकलाई नेपालले र भारतमा रहेका नेपालीलाई भारत सरकारले व्यवस्थापन गर्ने सहमति भए पनि भारतले नेपाली नागरिकलाई सिमानामा छाडिदिएर सहमति तोडेको निष्कर्ष निकालेको हो ।

बैठकमा समिति सभापति पवित्रा निरौला खरेलले नागरिक व्यवस्थापनसम्बन्धी सहमति भारतले तोडेको बताउनुभयो ।

कांग्रेस सांसद प्रकाशमान सिंहले भारतले दुबै देशमा रहेका नागरिकको व्यवस्थापन सम्बन्धित देशले गर्ने गरी भएको भनिएको सहमति कार्यान्वयन नभएको बताउनुभयो ।

बैठकमा सांसदहरूले आफ्ना नागरिकको व्यवस्थापन गर्न र नेपाल फर्किने वातावरण बनाउन सरकारलाई आग्रह गरे ।

कांग्रेसकी सचेतक पुष्पा भुसालले भारतमा रहेका ७ लाख नेपालीले नेपाल फर्किनका लागि दबाब दिइरहेको बताउनुभयो ।

भारतलगायत खाडी मुलुकमा रहेका र अप्ठ्यारोमा परेका नेपालीलाई आपत्कालीनरूपमा उद्धार गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

भारतको व्यवहारका कारण नेपालीहरू सीमामा आइरहेको भन्दै समितिले उनीहरूको स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइन्मा राख्ने गरी स्थानीय तहमा पठाउन निर्देशन दिएको छ ।