कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, जेष्ठ ५, २०७७

काठमाडौँ – नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

आइतबार बाँकेका २५ वर्षीय पुरुषको मृत्यु भएसँगै कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिडबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको जानकारी दिनुभयो । नरैनापुर–५ बाँकेका ती पुरुष गत वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बस्नुभएको थियो ।

गएराति ज्वरो, पखालालगायत स्वास्थ्य समस्या आएको थियो । आइतबार बिहान ६ः४० बजे उहाँको मृत्यु भयो । उहाँको पिसिआर परीक्षणका लागि स्वाबको परीक्षण रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले बताउनुभयो । यसबारे थप विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि शनिबार सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको पनि कोभिडबाटै मृत्युको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । ती महिला गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई २४ वैशाख गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् । सुत्केरीपछि ती महिलालाई २५ गते घर पठाइएको थियो । घरमा गएपछि ज्वरो, श्वासप्रश्वास जस्ता समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गराएकी महिलाको स्थिति जटिल बन्दै जाँदा धुलिखेल अस्पताल आउँदै गर्दा मृत्यु भएको मन्त्रालयले जनाएको थियो ।