रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, जेष्ठ १४, २०७७

रौतहट- रौतहटमा आज बुधबार थप ३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ४ पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले २८ जनाको काठमाडौंको टेकुस्थित प्रयोगशाला र ७ जनाको हेटौंडामा गरिएको परीक्षणमा पोजिटिभ देखिएको पुष्टि गरेका छन्ु ।

रौतहटको चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु सबै गढीमाई नगरपालिकाका बासिन्दा हुन् ।

त्यहाँ क्वारेन्टाइन नभएकाले उनीहरुलाई चन्द्रपुरमा राखिएको हो ।

त्यस्तै गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाहीगोनाहीमा २, र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

‘उनीहरु सबै भारतबाट आएका नेपालीहरु हुन् । सबैको स्वास्थ्य अवस्था समान्य छ,’ उनले भने, ‘संक्रमण देखिएकाहरुलाई कहाँको आइसोलेसनमा राख्ने भन्ने छलफल हुँदैछ ।’

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार चारदिन भित्र जिल्लामा ८३ जनामा संक्रमण पुष्टि भएको छ ।

उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । अहिले दिनहुँ भारतबाट जिल्लामा भित्रिनेहरुको संख्या सयको हाराहारीमा छ ।

यसअघि रौतहटमा मंगलबार मात्रै २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

रौतहटमा अहिलेसम्म तीन जना निको भएका छन् ।