नेपालको जनसंख्या ३ करोड पुग्यो

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, असार १२, २०७७

काठमाडौं- नेपालको जनसंख्या ३ करोड पुगेको छ।  तथ्यांक विभागको वेबसाइटमा राखिएको क्याल्कुलेटरले शुक्रबार नेपालको जनसंख्या ३ करोड ६३४ देखाएको हो।

सन् २०११ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो ।

तथ्याङ्क विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार वेबसाइटमा राखिएको क्याल्कुलेटरमा फर्मुला राखिएको छ । जसले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको हिसाब गर्छ ।

‘विश्वव्यापी फर्मुला नै हामीले प्रयोग गर्ने हो’, चौलागाईंले भने – ‘आजबाट नेपालको जनसंख्या ३ करोड छ भन्नु प्रमाणिक हुन्छ।’

सन् २०११ को जनगणना र त्यसअघिको तथ्यांकहरूको आधारमा फर्मुला तय हुने चौलागाईंले बताए ।

‘तीन करोड जनसंख्या हामीले गनेर तोकेको होइन’, उनले भने, ‘तर अबबाट तीन करोड जनसंख्या भन्न सकिन्छ ।’

उनले सन् २०२१ मा जनगणना गर्न तथ्यांक विभागले अहिले पाइलट प्रोजेक्ट गरिरहेको बताए ।

नेपालमा प्रत्येक दश वर्षमा जनगणना हुने गरेको छ ।