२८औं प्रहरी महानिरीक्षकमा थापा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, असार २४, २०७७

काठमाडौं-  नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षत्री नियुक्त हुनुभएको छ ।

सरकारले एआईजी थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।

थापा २०७६ साल फागुन १५ गते एआईजीमा बढुवा हुनुभएको थियो ।

गृह मन्त्रालयले जेष्ठता, कार्यक्षमता, र कार्यसम्पादन समेतको मूल्यांकनका आधारमा आईजीपीको बढुवा गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेअनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजीपीमा नियुक्त गरेको हो ।

२२ महिना प्रहरी संगठनको नेतृत्व सम्हाल्नुहुने थापा २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गर्नुभएको थियो ।

नेपाल प्रहरीमा चार वर्षयता भएका आईजीपी सिधै डीआईजीबाट नियुक्त भएकोमा यसपटक भने २८औं महानिरीक्षक एआईजीबाट नै नियुक्त भएका छन् । थापाले २०७९ वैशाख १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्नुहुने भएको छ ।

नेपाल प्रहरीका एआईजी थापा हाल मानवस्रोत एवं प्रशासन विभागको जिम्मेवारीमा रहनुभएको थियो ।

व्यावसायिक छवि बनाउन सफल हुनुभएका थापाको लामो समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा विताउनुभएको अनुभव रहेको छ ।

इन्सपेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदासम्म एकेडेमी र सचिवालयमा काम गरेको लामो अनुभव छ ।

प्रहरी निरीक्षक हुँदा सल्यान र सिन्धुपाल्चोकमा काम गर्नुभएका थापाले डीएसपी हुँदा धादिङको प्रमुख, एसपी हुँदा कास्की र झापाको प्रमुख रहेर काम गर्नुभएको थियो ।

डीआईजी हुँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख रहेर काम गर्नुभएका उहाँले नेपाल प्रहरीको दुईपटक प्रवक्ताको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो ।

सेवा प्रवेश गरेपछि दुईपटक बाहेक सधैं पहिलो नम्बरमा बढुवा हुन सफल हुनुभएका थापा संगठनभित्र व्यावसायिक र निष्कलंक छविका रुपमा चिनिँदै आउनुभएको छ ।

को हुन् महानिरीक्षक थापा ?
२०२५ साल मंसिर २३ गते भक्तपुर सूर्यविनायक नगरपालिका–५ साविक कटुन्जे गाविस–९ मा जन्मिनुभएका थापाले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।

थापाका बुबा पनि पूर्वडीआईजीबाट अवकाश हुनुभएको थियो ।

बुबाकै प्रेरणाबाट प्रहरी सेवामा प्रवेश गरेको बताउनुहुने महानिरीक्षक थापाले भक्तपुरको शारदा माध्यमिक विद्यालय व्यासीबाट २०४० सालमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो ।

नेपाल कमर्स क्याम्पस मीनभवनबाट स्नातक गर्नुभएका थापाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गर्नुभएको छ ।

थापाले नेपाली प्रहरी एकेडेमी, अमेरिकाको फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) र आर्मी स्टाप कलेजबाट ग्रेजुएसन गर्नुभएको छ ।

थापा बोस्निया, पूर्वी टिमोर र सुडान मिसनमा खटिनुभएको थियो ।

संगठनको कामको सिलसिलामा थापाले २२ भन्दा बढी देशमा सहभागी हुनुभएको थियो ।