नेपालमा घट्दैछन् संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, असार २४, २०७७

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमित थपिने सङ्ख्या क्रमशः घट्दै गएको छ ।

पछिल्लो पाँच दिनमा कोरोना पुष्टि हुनेको सङ्ख्या निरन्तर घटिरहेको र यो खुसीको कुरा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार असार १९ गते सात सय ४० जना सङ्क्रमित थपिएकोमा २० गते दुई सय ३२ जना, २१ गते दुई सय ९३ जना, २२ गते एक सय ८० जना र आज दुई सय चार जनामा मात्रै कोरोना भेटिएको छ ।

यस्तै पछिल्लो पाँच दिनमा आइसोलेशनबाट घर फर्कनेको सङ्ख्या पनि बढिरहेको छ ।

गएको शुक्रबार देशभरका क्वरेण्टीनमा नौ हजार ८४ जना आइसोलेशनमा रहेकोमा आज आठ हजार ६ सय ३४ जना रहेका छन् ।

यस्तै चार जिल्ला कोरोनामुक्त भएका छन् ।

तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा देखिएका सबै सङ्क्रमित निको भएर घर फर्किएसँगै यी जिल्लामा कोरोना सङ्क्रमित छैनन् ।

चार जिल्ला कोरोनामुक्त भएपछि ७४ जिल्लामा सङ्क्रमण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।