भारत बाहेकका मुलुकबाट २७ हजार नेपालीको उद्धार

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, साउन १, २०७७

काठमाडौँ –  भारतबाहेक अन्य मुलुकबाट हालसम्म २७ हजार १२५ जना नेपालीको उद्धार गरिएको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।

यो अवधिमा विदेशमा निधन भएका १६० जना नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको छ ।

बुधबार मात्र ५९३ जना नेपाली स्वदेश फर्किएका छन् ।

बुधबारअघि असार २८ गतेसम्म २७ हजार ५३२ जना नेपाली स्वदेश फर्किएका थिए ।

बुधबार नेपाल फर्कनेमा मलेसियाबाट १७, सिङ्गापुर र अस्ट्रेलियाबाट ५१, युएईबाट २८४ र कतारबाट १४१ जना छन् ।

त्यसैगरी विदेशमा कोरोना भाइरसको सङ्क्रमणमा परेका नेपाली नागरिकमध्ये ९२ प्रतिशत सङ्क्रमणमुक्त भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।

नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भीसाको समय सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो ।