सोमबारदेखि उद्धार उडान हुने

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, साउन ३१, २०७७

काठमाडौं– कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आगामी अगस्त १७ देखि उद्धार उडान गरिने भएको छ ।

नेपालका दुई नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गर्नेछन् ।

नेपाल एयरलाइन्सले १७ देखि ३१ अगष्टसम्म उद्धार उडान गर्नेछ भने हिमालय एयरलाइन्सले १६ देखि ३० अगस्तसम्मको उद्धार उडान तालिका सार्वजनिक गरेका छन् ।

दुवै एयरलाइन्सले आज नेपालीको उद्धारका लागि हुने उडानको तालिका सार्वजनिक गरेका हुन् ।

सरकारले अगस्त १७ गतेदेखि आन्तरिक र अन्तरराष्ट्रिय व्यावसायिक उडान खोल्ने घोषणा गरेको भए पनि कोभिडको महामारी राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तीव्र रुपमा फैलिएपछि हालैको मन्त्रिपरिषद् बैठकले अगस्त ३१ गतेसम्म व्यावसायिक उडान स्थगन गर्ने निर्णय गरिसकेको छ ।

विदेशमा अलपत्र नेपाली ल्याउन उद्धार उडान भने नियमित हुनेछन् ।

सरकारले अबको उद्धार उडानमा दैनिक पाँच सय जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ ।

तीमध्ये २०० जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने छ भने ३०० जना आफैँ टिकट काटेर आउने छन् ।

स्वदेश फर्कने नेपाली सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइने जनाइएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको विवरण अनुसार यही साउन २९ गतेसम्म विदेशबाट फर्कने नेपालीको संख्या ५० हजार ६६२ रहेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार आज मात्रै नेपाल एयरलाइन्सले जापानको नारिताबाट २५४ यात्रु तथा पाँच बच्चा नेपाल ल्याएको छ ।

सलाम एयरले मस्कटबाट १७५ यात्रु नेपाल ल्याएको छ ।

थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज दोहा र हिमालय एयरलाइन्सको जहाज चीनको कुनमिङ उडेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।