छठ पूजा सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, मंसिर ६, २०७७

काठमाडौं– सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व बुधबारदेखि शुरु भएको हो ।

चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ ।

यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ ।

कार्तिक शुक्ल सप्तमीका दिनअर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएपछि यो पर्व सम्पन्न भएको हो ।

मनोकांक्षा पूरा हुने विश्वासमा विशेष गरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् ।

विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ लागायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो ।

विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो ।

विगत वर्षमा बेहुलीझैँ सिँगारी राजधानीमा मनाइने छठ यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण भौतिक दूरी कायम गरी मनाइएको छ ।

आज बिहान यी स्थलहरुमा उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न भयो ।

शुक्रबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन पनि व्रतालुमात्र राजधानीका छठ घाट गएका थिए ।

कमलपोखरीमा विगत वर्षहरुमा करिब १५ हजार मानिस उपस्थित भएर छठ पूजा गर्ने गरिएकामा यस वर्ष जिल्ला प्रशासन कार्यालयको आह्वानमा १५० जनाले भौतिक दूरी कायम गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएको कमलपोखरी छठ समाजका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिनुभयो ।

उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ ।

यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ ।

बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो ।

सूर्योदय कालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ ।

सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।

कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताउनुभयो । सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको उहाँले जानकारी दिनुभयो ।

सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर वधु प्राप्तिको कामनाका लागि गर्छन् ।

सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ ।

सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुशी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ ।

महाभारत कालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए ।

पाण्डव मिथिलाको विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन शुरु गरिएको भन्ने भनाइ छ ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् ।

त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको विश्वाससमेत गरिन्छ ।