Kathmandu

काठमाडौं— संसदको विकास समितिले काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तार कार्यलाई तीव्र गतिमा अगाडि बढाउन तथा सरकारको नीति तथा कार्यक्रमअनुसार एक वर्ष भित्र कालोपत्र गरिसक्न निर्देशन दिएको छ ।
समितिले आज मंगलबारको बैठकमा भएको छलफलपछि काठमाडौंको रिङरोड भित्रका सबै सडक एक वर्ष भित्र कालोपत्र गर्न शहरी विकास, भौतिक पूर्वाधार तथा यातायात, उपत्यका विकास प्राधिकरण, काठमाडौं उपत्यका सडक विस्तार आयोजना, काठमाडौं महानगरपालिका तथा सडक विभागलाई निर्देशन दिएको हो ।
बैठकमा उपत्यकाको सडक विस्तार कार्यअन्तर्गत निर्देशित जग्गा विस्तार कार्यक्रम, जनसहभागिता क्षतिपूर्ति, मुआब्जा समेतको कार्यप्रणाली तथा उपत्यकाका चक्रपथभित्रका सबै सडक स्तरोन्नति गर्ने सम्बन्धमा सरोकारवाला निकायबीच छलफल भएको थियो । सरकारको नीति तथा कार्यक्रममा काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तार कार्यलाई तीव्रगतिमा अगाडि बढाइने र उपत्यकामा चक्रपथ भित्रका सबै सडक एक वर्ष भित्र कालोपत्र गरिने उल्लेख थियो ।
समिति सभापति रवीन्द्र अधिकारीले काठमाडौं उपत्यका सडक विस्तार कार्यक्रमअन्तर्गत कुनै पनि क्षेत्रमा सडक विस्तार गरिँदा कुन कुन क्षेत्र कुन निकायको कार्यक्षेत्रभित्र पर्दछन् र ती क्षेत्रमा यस वर्षभित्र कुन कुन सडक मर्मत तथा विस्तार हुँदैछन् ती कुरा सम्बन्धित क्षेत्रका उपभोक्ता अथवा बासिन्दालाई सूचित गर्नसमेत निर्देशन दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार