चीनले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा ११ जनाको मात्रै खर्च बेहोर्ने भन्दै नेपाल सरकारलाई अवगत गराए पनि भ्रमण टोली भने जम्बो हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा ४५ जना रहनेछन् । टोलीमा चारजना मन्त्री, एमाले, एमाओवादी, मधेसी दल र कांग्रेसका सभासद्लाई समावेश गरिएको छ ।

पूववर्ती सरकारले बनाएको निर्देशिकामा सरकार प्रमुखले १९ जना र विशेष अवस्थामा तीनजना थपेर बढीमा २२ जनाको भ्रमण टोली मात्र लान पाउने व्यवस्था गरिएको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, आपूर्तिमन्त्री गणेशमान पुन, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् । त्यस्तै परराष्ट्र सचिव शंकर बैरागी, अर्थसचिव लोकदर्शन रेग्मी, वाणिज्य सचिव ङइन्द्र उपाध्याय, ऊर्जासचिव सुमन शर्मा, स्थानीय सचिव महेन्द्रमान गुरुङ, आपूर्ति सचिव श्रीधर सापकोटा, भौतिक योजना सचिव अर्जुन कार्की, परराष्ट्रका सहसचिव झविन्द्र अर्याल र शिष्टाचार महापाल रमेश खनाल छन् ।

टोलीका अन्य सदस्यमा उपसचिव भरतकुमार रेग्मी, उपसचिव दधिराम भण्डारी, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका परराष्ट्र मामिला विज्ञ गोपाल खनाल तथा सञ्चारविज्ञ चेतन अधिकारी छन् । दुई सुरक्षाकर्मी, सरकारी सञ्चारमाध्यमका तीनजना पत्रकार, प्रधानमन्त्रीका चिकित्सकलगायत पनि टोलीमा रहनेछन् ।

सरकारी खर्चमा चीन जानेमा ४५ जना छन् । व्यापारी र उद्योगीहरूको भिन्दै टोली पनि प्रधानमन्त्रीसँगै चीन भ्रमणमा रहने भएको छ । उनीहरूको खर्च सरकारले नबेहोर्ने बताइएको छ ।

प्रधानमन्त्री काठमाडौंबाट चैत ७ गते सीधै चीनको राजधानी बेइजिङ जानेछन् । चीनले पठाउने चार्टर्ड विमानमा प्रधानमन्त्रीको टोली चीन जानेछ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङ्को निमन्त्रणामा चीन जान लागेका प्रधानमन्त्री ओलीले ८ गते बेइजिङमा राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री खछ्याङ र उपराष्ट्रपति ली युआन चाओसँग भेट्नेछन् ।

प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले भेट्ने तय भएको छ । ओली चैत ९ गतेदेखि चीनको हाइनान प्रान्तमा हुने ‘बोआओ फोरम फर एसिया’ सम्मेलनमा सहभागी हुनेछन् । प्रधानमन्त्री चीनको सिचुवान प्रान्तको छेङ्दु हुँदै स्वदेश फर्किछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार