निर्वाचन आयोग भन्छ-‘निर्वाच्न सार्न मिल्दैन’

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, असार १, २०७४

काठमाडौं– निर्वाचन आयोगले मधेशका केही जिल्लामा १४ असारका लागि निर्धारित स्थानीय तहको निर्वाचन सार्ने सरकारको प्रस्ताव अस्वीकार गरेको छ ।
राजपालाई मनाउनका लागि सत्तारुढ दलहरुले मधेशका केही जिल्लाहरुमा निर्वाचन सार्न गरेको प्रस्ताव आयोगले अस्वीकार गरेको हो । आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तहरुसँग सत्तारुढ दलका नेताहरुको आज विहान छलफल भएको थियो ।
आयुक्तहरुले स्थानीय तहको निर्वाचन फेरि सारेमा प्रदेश सभा र संघीय संसदको निर्वाचन समेत प्रभावित हुने बताएका थिए । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने पूर्व निर्धारित कार्यक्रम अनुसार भोलि शुक्रवार नै उमेदवारी मनोनयन दर्ता हुने बताए ।
राजपालाई पनि निर्वाचनमा सहभागी गराउन तालिकामा हेरफेर गर्न सकिन्छ कि भनेर सोधेको तर आयोगले त्यसो सम्भव हुँदैन भन्ने जानकारी गराएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
निर्वाचनको मिति सार्न नसकिने आयोगको जवाफपछि अहिले सत्तारुढ दलहरुको बैठक बसिरहेको छ ।