पहिचानको लागि जुट्दै हामी

नेपाली आप्रबासीहरूको इतिहास सहित हाम्रै पशुपति नाथ, हाम्रै गौतम बुद्धलाई हामीले समेट्दै अन्य बिभुति र परिचय समेट्दै जाँदा हाम्रा सन्ततिले कालान्तरसम्म नेपाल चिनिरहनेछन् ।
-- सुजित सिग्देल, अावरण डिसेम्बर अंक २०१७ ?>

देश भित्रै पहिचानका लागि भन्दै भएका विविध खाले बन्द हड्ताल र खबरदारीबीच अष्ट्रेलियामा ‘पहिचानको लागि जुट्दै हामी’ भन्ने बाक्यले फरक आशय नलागोस् । पच्चीस बर्ष भन्दा छोटो इतिहास भएको हाम्रो यहाँको आप्रबासी बसाइ एकबाट अहिले एकलाखको हाराहारीमा पुगेका छौं । यहाँको हाम्रो पहिलो पहिचान भनेको नेपाली नै हो, अनि त्यो पहिचान हामीले हाम्रै बलबुता र मेहेनतको जगमा खडा गर्नु पर्दछ र गर्दैछौं पनि । यस्तै पहिचानका लागि हाम्रा नेपाली दाजुभाइ दिदीबैनीहरूबाट फरक समयमा, फरक फरक विधामा, फरक फरक प्रयासहरू भएका छन् ति सबै स्तुत्य छन् ।

हाम्रो पहिचान अष्ट्रेलियाको आप्रबासी समाजमा सदा झैँ अग्लो नै छ, जसरी संसारका जुन सुकै कुनामा पुगेका नेपालीहरूले इमान्दारिता र मेहेनतीको कवच भित्र आफ्नो परिचय निखारेका छन् अष्ट्रेलियामा रहेका हामी नेपालीहरू पनि त्यस मानेमा निक्कै अगाडि छौं । यहाँ आएका विद्यार्थीहरू ले गरेको परिश्रम अध्ययन, व्यवसाय र जागिरका क्षेत्रमा गरेका प्रगतिहरू ले नेपाली समुदाय यहाँको स्थानीय हुँदै केन्द्रिय सरकारसम्म प्रसंसाका पात्र छन् । पछिल्लो समय यहाँ स्थाई बसोबास पछि घर जग्गा खरिदका सबालमा नेपालीहरू तेश्रो समुदायको रुपमा दरिए पछि यहाँका वित्तिय संस्थादेखि घर जग्गा खरिद गर्नेसम्मका संस्थाहरूले हाम्रो प्रगति र आर्थिक उन्नतिलाई नजिकैबाट नियाल्दै छन् ।

फेरि पनि बिश्वका धेरै परिबर्तनहरू पहिचानका लागि भएका छन् त्यसमा पनि पहिलो आप्रबासी पुस्ताका लागि पहिचान जोगाउनु ठूलो चुनौती नै हो । यहि चुनौती महसुश गर्दै अष्ट्रेलियाका भिन्न शहरहरूमा बस्ने नेपालीहरूबाट फरक फरक बेलामा समुदाय भित्रै विविध प्रयासहरू भएका छन् । त्यस मध्ये सिड्नीको सामुदायिक भवनको परियोजना केहि बर्ष अगाडि सुरु भएर आहिले पनि कार्यन्वयन कै चरणमा छ यस बीचमा परियोजनाले जग्गा खरिद गरिसकेको छ । त्यसरी नै नेपाली हिन्दू समाज अष्ट्रेलियाको सक्रियतामा केहि समय अगाडि बिधिपूर्बक स्थापना गरिएको पशुपति नाथको मन्दिर अहिले सो ठाउँबाट स्थान्तरण गर्नु परेको थियो । सो कारण मन्दिर निर्माणको अभियान केहि समय सुस्ताएको भए पनि अब छिट्टै नै मन्दिर स्थापनालाई तदारुपताकासाथ अगाडि बढाउन यहाँको सामाजिक अभियन्ताहरूको सक्रियतामा प्रकियागत रुपमै लागेको नेपाली हिन्दू समाज अष्ट्रेलियाले जनाएको छ ।

त्यस पछि यस्तै प्रयास स्वरुप बेस्टर्न अष्ट्रेलियाको पर्थमा केहि महिना अगाडि एउटा महायज्ञको आयोजना भएको थियो । वेस्टर्न अष्ट्रेलियामा रहेका नेपालीहरूले पशुपतिनाथ र बौद्ध नाथ अफ वेस्टर्न अष्ट्रेलिया गठन गरि नेपालका हिन्दूमार्गी र बौद्ध मार्गी दुबैको सामुहिक आस्थाको केन्द्र बनाउने अभियान स्वरुप भएको उक्त महायज्ञमा मन फुकाएर सहयोग गरेका निल र राज थपलिया दाजुभाइले । पर्थमा रहेर व्यवसायको क्षेत्रमा जमेका यी मनकारी एवं परोपकारी दाजुभाइ मध्येका राज थापलिया बर्तमान नेपाल सरकारको तर्फबाट वेस्टर्न अष्ट्रेलियाका लागि पर्यटन प्रतिनिधि पनि हुन् । राज थपलियाले त्यहाँ भएको यज्ञबाट चार लाख डलर भन्दा बढी रकम उठेको जानकारी दिए । तत् पश्चात पशुपतिनाथ र बौद्ध नाथ अफ वेस्टर्न अष्ट्रेलिया समितिका साथीहरू जग्गा खरिद प्रकृयामा रहको थपलियाले जानकारी दिए । अहिले मेलबर्नमा आयोजना भइरहेको सप्ताहाबाट पनि त्यहाँका साथीहरू आफ्नो लक्ष्यमा पुग्न पक्कै सफल हुने र त्यसमा सबैको सहयोग हुनेमा निलले बिश्वास व्यक्त गरे ।

एक परिवारको लागि आजीवन सदस्य शुल्क स्वरुप १५०० अष्ट्रेलियन डलर हुनेछ त्यो सदस्यलाई भोलि सेन्टरको समितिदेखि बोर्ड अफ डिरेक्टर चयनसम्ममा एक मत गनिने छ ।

महायज्ञ र महाअभियानको तयारीमा मेलबर्न

हाम्रो नेपालीत्वको पहिचान युगौंसम्म यहाँको बहुसांस्कृतिक समाजमा स्थापित गर्ने महाअभियानको जग खन्न लागि परेका छन् यति बेला मेलबर्नका नेपालीहरू । त्यसो त यो सुरुवात होइन यसैको सुरुवात भनौं अष्ट्रेलियन नेप्लिज मल्टीकल्चरल सेन्टर (Australian Nepalese Multiculture Centre) अर्थात ANMC को नामबाट आजभन्दा तीन बर्ष अगाडिदेखि नै सक्रिय थिए मेलबर्न नेपाली समुदायका अग्रजहरू । पब्लिक प्रोजेक्टको कन्सेप्टमा अगाडि बढाउने लक्ष्य लिएर स्थापित ANMC लाई आफ्नो कुशल नेतृत्व प्रदान गरिरहनु भएको छ पेशाले चिकित्सक डा. चन्द्र दीपक पोख्रेल । यो तीन बर्षमा ANMC ले अन्य तीन सयभन्दा बढी मनोकारी र परोपकारी नेपाली मनहरू लाई जोड्यो र अहिले संस्थामा तीन सय आजीवन सदस्यहरू छन् । र संस्थाको खातामा अहिले करिब ३ लाख अष्ट्रेलियन डलर जम्मा भएको छ । जुन रकम आँफैमा निक्कै ठूलो नभए पनि धेरैको लागि उत्साह र प्रेरणाको बिउ भने पक्कै हुनेमा यसका अभियन्ताहरू बिस्वस्त छन् । सामान्यत: यसको सोच र योजना पनि एकदमै मैत्री खालको छ र यहि सोच सहित सेन्टर अगाडि बढ्ने लक्ष्यमा छ । एक परिवारको लागि आजीवन सदस्य शुल्क स्वरुप १५०० अष्ट्रेलियन डलर हुनेछ त्यो सदस्यलाई भोलि सेन्टरको समितिदेखि बोर्ड अफ डिरेक्टर चयनसम्ममा एक मत गनिने छ । आजीवन सदस्य शुल्क बाहेक जो सुकैले जति पनि रकम सेन्टरलाई दिन सक्नेछ जुन दान या डोनेसनको रुपमा खातामा जम्मा हुनेछ । यहि अभियान अन्तर्गत मेलबर्नको नेपाली समुदायका गहनाहरू चन्द्र योञ्जन लगायतले मन फुकाएर सहयोग गरिसकेका छन् भने महायज्ञको दौरानमा शेष घले लगायत समुदायलाई असाध्यै माया गर्नेहरू बाट पनि आँफूले सक्ने सहयोग मन फुकाएर हुने आशा रहेको डा. पोख्रेलले बताए ।

बिगत तीन बर्षमा बिभिन्न समयमा सेन्टरका लागि बैचारिक मन्थन र अर्थ संकलन हेतु विविध कार्यक्रमहरू भए तर यसलाई अलिकति फरक र व्यापक रुपमा सबैको लागि अवसर र यज्ञ कै रुपमा यो महाभियान लाने सबैको सल्लाह स्वरूप यहि डिसेम्बरको १८ देखि २४ सम्म माता चिन्तापूर्णी हिन्दु मन्दिर सेन्ट अलबन्समा पण्डित दिनबन्धु पोखरेलबाट पुराण बाचन सहितको मेलबर्न सप्ताहा यज्ञ हुँदैछ । “पशुपति नाथ मन्दिर र बौद्ध स्तुप सहितको सांस्कृतिक केन्द्र बनाआैं, मेलबर्नमा नेपाली आस्था र पहिचान निर्माण गर्ने सपना साकार पारौं” भन्ने सन्देश सहित मेलबर्न सप्ताहाका लागि डा. चन्द्र दीपक पोख्रेलको संयोजकत्वमा ५०१ सदस्सीय मूल समिति र बिभिन्न २८ अन्य उप–समितिहरू निर्माण गरि मेलबर्न यति बेला सम्पूर्ण रुपमै सप्ताहाको तयारीमा होमिएको छ । नेपालमा परोपकारी हेतु धेरै धार्मिक अनुष्ठान गरि, धेरै परोपकारी काम गरि सकेका पण्डित दिन बन्धु पोख्रेलको मुखाराबिन्दबाट भागबतपुराणको सेरोफेरो आत्म शुद्धी सहित गरिन लागेको उक्त अनुष्ठान हिन्दु पौराणिक कथाहरू का श्रबण मात्र नभई अन्य विविध कार्यक्रमहरू जस्तै बृद्ध बुवाआमाका लागि शिबिरहरू, साना बाबुनानीहरूका लागि शिबिर सहितको कार्यक्रम र विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरू बाट मोटिभेसनल स्पिचहरू पनि सातै दिन भरि विविध समयमा प्रस्तुत गरि कार्यक्रममा थप रौनकता र आकर्षणता थपिने छ ।

बितेका दुई दशकमा एकबाट एक लाख पुगेको हाम्रो संख्या अर्को एक दशकमा कति पुग्ला त्यसलाई समेत आत्मसाथ गर्दै हामीले हाम्रा परिचय सहित यो आप्रबाशी भूमिमा उभिने हाम्रो धरोहरको जग हाल्न अब कत्ति पनि ढिलो गर्नु हुँदैन ।

माथि नै उल्लेख गरे जस्तै एक लाख भन्दा ठूलो संख्याको नेपालीहरू को यहाँको बसाइ एकै शहर वा एकै राज्यमा छैन, यो अष्ट्रेलिया भरि नै छरिएर रहेको छ त्यसैले पनि मेलबर्नको सप्ताहब्यापी कार्यक्रममा धेरै भन्दा धेरै स्टेटका नेपालीहरूको सहभागिता रहने सो महायज्ञमा सबैलाई हार्दिक निमन्त्रणा गरेको छ मेलबर्नको नेपाली समुदाय र यो आयोजक कमिटिले । सात दिनमा कम्तिमा पाँच हजारभन्दा धेरै भक्तजन र नेपालीहरू ले यो सप्ताहामा सहभागिता जनाउने अनि सबैको सानो–सानो सहयोगले मेलबर्नबासीले देखेको यो ठूलो सपनाले साकार रुप पाउने कुरामा ढुक्क छन् मेलबर्न सप्ताह आयोजक कमिटिका महासचिब एबं एनआरएनएका उपाध्यक्ष केशब कँडेल । यस्तो सेन्टरको आबस्यक्ता किन त भन्ने प्रश्नको उत्तर निक्कै लामो हुन्छ तैपनि छोटो उदाहरण दिंदै कँडेलले भने यहि सप्ताह तयारी गर्दै गर्दा हामीले पहिले तोकिएको स्थान परिबर्तन गर्नु पर्यो किनकि यस्तो पुण्य कार्यमा हामीले प्रयोग गर्ने भनेको स्थान जसको स्वामित्वमा थियो उनीहरूले राखेको शर्त निक्कै उदेक लाग्दो थियो । कँडेल अगाडि भन्छन् “भोलि यो सेन्टर बनि सक्दा त्यो नियति कुनै नेपाली संघ संस्था व्यक्ति बिशेष, नेपाली भाषीहरू र कुनै परोपकारी कार्य या सामाजिक कार्यका लागि आएका अन्य देश र मुलका संघ संस्थालाई भोग्नु नपरोस भन्ने हाम्रो सोच हो ।” ठिक त्यस्तै विचार राख्छन डा. पोख्रेल पनि । अष्ट्रेलिया भरि घुम्दा खड्कने कुरा हो कि अन्य संख्यामा सानो रहेका समुदायका पनि आफ्नै स्वामित्वका कम्युनिटिहलहरू या देशको परिचयात्मक सांस्कृतिक महत्व झल्कने भवनहरू शहरै पिच्छे हुँदा अझै कयौं शहरहरू मा त झन् एक भन्दा धेरै हुदाँ समेत संख्यात्मक र गुणात्मक रुपमा अगाडि रहेका हामी नेपालीहरू को अष्ट्रेलिया भरि कतै केही नहुनु दु:खद पाटो हो । कम्तिमा मेलबर्नले अगाडि सारेको यो कन्सेप्टमा हामी सफल हुँदै गर्दा यो सबै स्टेटका नेपालीहरू को लागि एउटा प्रेरणा हुनेछ । यो पटक सबैले मेलबर्नको यस महाअभियान सफल पाराैं अर्को पटक सबै मिलेर अन्य ठाउँमा सफल गरौं पोख्रेलले अष्ट्रेलिया भरि छरिएर रहेका सह्दयी नेपाली दाजुभाइ दिदीबैनीहरूलाई द नेपाली टाईम्स मार्फत अनुरोध समेत गरेका छन् ।

निश्चय नै धार्मिक महत्व सहित साँस्कृतिक पहिचानका रुपमा हामीले गरेका यी कार्यहरू को पछिल्लो पुस्ताले गर्ब गर्ने छन् ।

फेरि पनि एक थुकी सुकी, हजार थुकी नदि भने झैँ यो पटक मेलबर्नको कार्यक्रम सफल भए संगै र मेलबर्नमा पशुपति नाथ मन्दिर र बौद्ध स्तुप सहितको संस्कृतिक केन्द्र बन्दै गर्दा हामी सबैको शिर गर्बले ठडिनेछ । यसको अनुभबलाई हामीले अरु स्टेट र शहरहरूमा बिस्तारित गर्दै हाम्रा पहिचानका धरोहरहरू सबै शहरहरूमा ठडाउन आत्मबल पक्का मिल्ने छ । नेपाली आप्रबासीहरूको इतिहास सहित हाम्रै पशुपति नाथ, हाम्रै गौतम बुद्धलाई हामीले समेट्दै अन्य बिभुति र परिचय समेट्दै जादाँ हाम्रा सन्ततिले कालान्तरसम्म नेपाल चिनिरहनेछन् । बितेका दुई दशकमा एकबाट एक लाख पुगेको हाम्रो संख्या अर्को एक दशकमा कति पुग्ला त्यसलाई समेत आत्मसाथ गर्दै हामीले हाम्रा परिचय सहित यो आप्रबाशी भूमिमा उभिने हाम्रो धरोहरको जग हाल्न अब कत्ति पनि ढिलो गर्नु हुँदैन । निश्चय नै धार्मिक महत्व सहित साँस्कृतिक पहिचानका रुपमा हामीले गरेका यी कार्यहरू को पछिल्लो पुस्ताले गर्ब गर्ने छन् । किनकि दोश्रो पुस्ता या तेस्रो पुस्ता बिति सक्दा पनि राजनीति या अन्य रुपमा सफल पाई सकेका व्यक्तिको पनि आखिर समाजले यहाँ जरो खनेको पाइन्छ, ओरिजिनको मुक्त कण्ठले प्रसंसा गरेको पाइन्छ । ओरिजिन के हो भनेर जसरि हामीले अहिले प्रधानमन्त्री भई सकेका व्यक्तिहरूलाई समेत सोध्ने गर्छु जान्न उत्सुक हुन्छौं, भोलि हाम्रो दोश्रो या तेश्रो पुस्तालाई निश्चय पनि सोधनी हुने छ । हो त्यति बेला अहिले हामीले इँटा लगाएका जग बसालेका यी धरोहरहरूले आफ्नो परिचय दिंदै हाम्रो समेत परिचय बाँढ्दै सदियौं रहिरहनेछन् ।

आउनुहोस मेलबर्नको यो महानकार्य र माहाअभियानमा हामी सबै तन मन धनले सरिक बनाै‌, डिसेम्बरको १८ देखि २४ सम्म माता चिन्तापूर्णी हिन्दु मन्दिर सेन्ट अलबन्समा पण्डित दिनबन्धु पोखरेलबाट हुने पुराण बाचन लगयतका विविध कार्यक्रममा सहभागी बनौं, कार्यक्रमको कुनै न कुनै अंश संग सहकार्य गरौं । यो सप्ताहाब्यापी कार्यक्रम सफल बनाआै‌ । फेरि पनि अहिले नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने । ॐ भवतु सब्ब मङ्गलम !