संगीतकर्मी विजयसिंह मुनाल रहेनन्

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– सङ्गीतकार विजयसिंह मुनालको सोमबार विहान निधन भएको छ । पारिवारिक घुमघामको क्रममा सहकर्मीहरुका साथ धनगडी पुगेका संगीतकर्मी मुनालको राती सुतेकै अवस्थामा निधन भएको उनको पारिवारिक सदस्यले बताएका छन् ।
सोमबार राती ९ बजे मुनालले काठमाडौं बानेश्वरमा रहेकी आफ्नी छोरी गायिका वृन्दासँग टिकापुर घुमघामको दिनभरिको रमाइलो अनुभूति सुनाएका थिए । रमाइलो घुमघाम गरि परिवारसँग कुराकानी गरेर सामान्य अवस्था मै सुतेका थिए तर बिहान अचानक उनी मृत अवस्थामा भेटिए । उनको पार्थिव शरीरलाई धनगडीबाट एम्बुलेन्समा राखेर काठमाडौं ल्याएको थियो । मंगलबार बिहान पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको छ ।
विजय सिंह मुनालका ५ दर्जन भन्दा बढी गीतहरु रेडियो नेपालमा रेकर्ड भएका छन् भने रेडियो नेपाल बाहिर पनि उत्तिकै गीतहरु रेकर्ड भएका छन् । उनी उदित नारायण झाका नजिकका साथी पनि हुन् । उदितनारायण, मधु क्षेत्री र विजयसिंह मुनालको सहयात्रा कुनै बेला नेपाली संगीतमा निकै जमेको थियो । उदित नारायण झालाई मुम्बइमा स्थापित गराउन समेत उनले महत्वपुर्ण भूमिका खेलेका थिए ।
कुनै बेला रेडियो नेपालका गीत रेकर्डिहरुमा कंगो बादन गर्ने मुनाल स्टेज कार्यक्रममा समेत कंगो मास्टरका रुपमा देखा पर्दथे । रेडियो नेपालको गीत रेकर्डको यात्रामा उनी २०३५–२०३६ सालदेखि कंगोबादकका रुपमा रहेका थिए । उनले सयौं गीतहरुमा कंगोवादन गरेका थिए ।