भारतीय विदेश मन्त्री स्वराज काठमाडौंमा

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपाल भ्रमणका लागि बिहिबार काठमाडौं आइपुग्नु भएको छ । उहाँ विशेष विमानबाट हिजो दिउसो ४ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएको विमानस्थल कार्यालयले जनाएको छ ।
भारतीय विदेशमन्त्री स्वराजसँगै भारतीय विदेश सचिव विजयशेखर गोखलेलगायत उच्च सरकारी अधिकारी पनि सहभागि हुनुहुन्छ ।
स्वराजले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र राजपाका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नु भएको छ । उहाँले एमाले अध्यक्ष ओलीलाई होटल सोल्टीमा र मधेश केन्द्रीत दलका नेतालाई होटल द्वारिकामा भेट गर्नु भएको छ ।
भारतीय विदेश मन्त्री स्वराजले आज शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरवहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
भारतीय विदेश मन्त्रालयले नियमित उच्च राजनीतिक भ्रमण भनेपनि नेपालमा नयाँ सरकार बन्न लागेको सन्दर्भमा भारतीय विदेश मन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

दुई देशको बर्षौदेखिको सम्बन्ध थप बलियो बनाउन र आपसी हित प्रवद्र्धन गर्न भ्रमण प्रभावकारी हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा बधाई दिनुभएको थियो । यस्तै एमाले अध्यक्ष ओलीले पनि भारतीय प्रधानमन्त्री मोदीसँगै काम गर्न आतुर रहेको बताउनुभएको थियो ।