भ्रष्ट देशको सूचीमा नेपाल १२२औं स्थानमा

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– विश्वका १ सय ८० देशहरूलाई समेटेर ट्रान्सपरेन्सी इन्टरनेशनलले गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल १२२औं स्थानमा परेको छ । यो वर्ष नेपाल गत वर्षभन्दा ९ स्थान माथि उक्लिएको छ । गत वर्ष नेपाल १३१औं स्थानमा थियो । नयाँ प्रतिवेदनले नेपालमा भ्रष्टाचारमा केही सुधार भएको देखाएको छ ।
यो प्रतिवेदनमा ४० भन्दा कम अंक ल्याउने देशहरु अत्यधिक भ्रष्टाचार हुने देशअन्तर्गत पर्दछन् । नेपालले ३१ अंक प्राप्त गरेको छ । गतवर्ष नेपालले २९ अंक पाएको थियो । प्रतिवेदनले शुन्य अंक पाए सबैभन्दा धेरै भ्रष्टाचार हुने र १०० अंक ल्याए भ्रष्टाचार नै नहुने देशअन्तर्गत पर्ने उल्लेख गरेको छ । यो वर्ष करीब १२० देशहरुले ५० भन्दा कम अंक प्राप्त गरेका छन् ।
प्रतिवेदनअनुसार ८९ अंक सहित न्यूजिल्याण्ड कम भ्रष्टाचार हुने देशमा परेको छ भने ८८ अंक सहित डेनमार्क दोस्रो स्थानमा छ । त्यस्तै सोमालिया ९ अंक सहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ । त्यसैगरी दक्षिण सुडान १२ अंक सहित दोस्रो र सिरिया १४ अंक सहित तेस्रो धेरै भ्रष्टाचार हुने देशमा परेको छ । राजनीति, वित्त, न्यायलगायत ६ वटा मापदण्डको आधारमा देशहरुलाई वर्गिकरण गरिने ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।