स्मार्टफोन चलाउँदै हुनुहुन्छ ?

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, चैत्र ४, २०७४

स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । हामीले स्मार्टफोन प्रयोगबारे केही त्यस्ता बानी विकास गरेका छौं, जसको ठोस अर्थ छैन । त्यसले केही फाइदा पनि गर्दैन । त्यसैले ती बानीबाट छुटकारा पाउनु नै उचित हुनेछ ।

ब्याकग्राउन्ड एपहरू बन्द गर्ने : ब्याकग्राउन्डमा चलिरहेका एपहरू बन्द गर्ने हाम्रो बानी छ । वास्तवमा त्यसको कुनै खास अर्थ छैन । ब्याकग्राउन्डमा चलिरहेका एपहरूले र्‍याम चलाइरहेको त हुन्छ, ब्याकग्राउन्ड एप बन्द गर्दैमा त्यो समाप्त हुने होइन । ब्याकग्राउन्ड एपले समस्या ल्याउने भएको भए एप्पल र गुगलले त्यसको समाधानका उपाय ल्याइसक्थे ।

ब्याट्रीको अवधि बढाउन अँध्यारो थिम प्रयोग गर्ने : ओएलइडी वा अमोएलइडी स्क्रिनमा मात्र यसले काम गर्छ, किनभने यसमा हरेक पिक्सेलले आफ्नो लाइट प्रयोग गर्छ र कालो पिक्सेल बल्दैन । तर, बजारमा बिक्री हुने ९० प्रतिशत स्मार्टफोनहरूमा एलसिडी स्क्रिन हुन्छ, जसमा पूरै स्क्रिनले ब्याकलाइट पाइरहेको हुन्छ । पूरै कालो रंगको डिस्प्ले प्रयोग गरे पनि उत्तिकै मात्रामा ब्याट्री प्रयोग भइरहेको हुन्छ ।

फोनलाई धेरै चार्ज हुने डर : स्मार्टफोनका ब्याट्री निकै आधुनिक भइसकेका  छन् । ग्यालेक्सी नोट सेभेनको केही घटनाबाहेक स्मार्टफोनको ब्याट्रीमा खास समस्या छैन । लिथियमियन ब्याट्री चार्ज गर्दा तात्छन् । तर, यो सामान्य विज्ञान हो । मोबाइल फोन होस् वा ल्यापटप, जब ब्याट्री शत प्रतिशत चार्ज भएको छ र वाल सकेटमा जोडिएको छ भने ती साधनभित्र रहेको विद्युतीय सर्किटले ब्याट्रीलाई चार्ज हुनबाट रोक्छ ।

नयाँ फोनको ब्याट्रीलाई पूरै चार्ज गर्नुअघि चार्ज शून्यमा झार्ने: यसो गर्नु पनि अवश्यक छैन । पहिलेका निकेल क्याड्रिमयम ब्याट्रीहरूलाई चार्ज गर्नुअघि पूरै खाली गर्नुपर्ने हुन्थ्यो । तर, अहिले स्मार्टफोनमा प्रयोग हुने लियन र लिपोलिमर ब्याट्रीमा यो समस्या छैन ।

स्मार्टफोनमा स्क्रिन प्रोटेक्टर राख्ने: स्क्रिन प्रोटक्ेटरहरूले फोनको स्क्रिनलाई भद्दा देखाउँछ  । फोन खसिहाल्यो भने स्क्रिन प्रोटेक्टरले शत प्रतिशत स्क्रिन जोगाउँछ भन्ने छैन । तपाईंको फोनमा पछिल्लो गोरिल्ला ग्लास स्क्रिन छ भने तपाईंले यसमा ती स्क्रिन प्रोटेक्टर राखेर ठूलै हानि गरिरहनुभएको छ ।

ओरिजिनल चार्जर प्रयोग नगर्नु : प्राविधिक रूपमा यसो गर्नु राम्रो हो तर, हरेकपटक फोन चार्ज गर्न ओरिजिनल चार्जर नै प्रयोग गर्नुपर्छ भन्ने जरुरी छैन । तपाईंले फोनको चार्जर हराउनुभयो भने, के गर्ने ? ओरिजिनल चार्जर महँगो हुनसक्छ । तर, राम्रो गुणस्तरको भरपर्दो फोन चार्जर अहिले इ–कमर्स साइटहरूमा पाइन्छ । ओरिजिनल चार्जर नै प्रयोग गर्नुपर्ने भएको भए पावर ब्यांकहरू सायदै उत्पादन हुन्थे ।

फ्री वाइफाईको काम छैन : कुनै कुरा नि:शुल्क छ भन्दैमा सुरक्षित छ भन्न मिल्दैन । डाटा र इन्टरनेटको शुल्क निकै सस्तो भइसकेको अहिलेको अवस्थामा जुन पायो त्यो नि:शुल्क वाइफाईमा फोन कनेक्ट नगर्नुस् । तपाईंको नेटवर्क ट्राफिकमा कसले ह्याक गर्न खोजिरहेको छ भन्ने तपाईंलाई थाहा नभएको पनि हुन सक्छ ।