“सत्रु गते” को ब्यग्र प्रतीक्षामा अस्ट्रेलिया

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

दर्शकहरुमाझ प्रतिक्षाको  विषय बनिरहेको नेपाली फिल्म ‘शत्रु गते’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । नेपालमा यही मार्च २३ का दिनदेखि सार्वजनिक प्रदर्शन हुने मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको यो बहुप्रतिक्षित फिल्म यही मार्च २४ देखि अष्ट्रेलियामा प्रदर्शन हुन लागेको हो ।
सायन इन्टरटेन्मेन्ट वितरक रहेको ‘शत्रु गते’ लाई फोर नेशन्स इन्टरनेशनलको प्रमूख प्रायोजनमा   अष्ट्रेलियाका विभिन्न सिनेमा हलमा प्रदर्शन गर्न लागेको हो । यसमा साउदर्न एकेडेमी, साउदर्न इङ्लिस कलेज अरु दर्जनौ प्रायोजकहरु  रहेका छन् । यो फिल्म बरउड इभेन्ट सिनेमाजमा मार्च २४ (शनिवार) तथा मार्च २५ (आइतबार) साँझ ६ बजेदेखि प्रदर्शन हुनेछ भने हर्सभिल इभेन्ट सिनेमाजमा मार्च २५ (आइतबार) का दिन प्रदर्शन हुनेछ । फिल्म हेर्नका लागि टिकट दर २५ डलर तोकिएको छ । अस्ट्रेलियाकालागि निर्धातिर प्रदर्शन मितिको सम्पूर्ण टिकटहरु बिक्रि भैसकेको आयोजक संस्थाले जनाएको छ ।
फिल्मका गीत तथा ट्रेलरका कारण यसलाई दर्शकहरुले प्रतिक्षाको सूचीमा राखेका हुन् । यो फिल्मका मल्टिप्लेक्समा समेत राम्रो शो पाएको छ । फिल्मले क्यूएफएक्स च्यानलका सिनेमा हलमा पहिलो दिन नै २२ शो, बिग मुभिजमा ९ शो, एफक्यूबमा ८ शो, सिने डि सेफमा १० शो, बिएसआर मुभिजमा ८ शो तथा क्युज सिनेमाजमा ७ शो पाएको छ ।
मह सञ्चारको ब्यानरमा प्रदीप भट्टराईद्वारा निर्देशित यो फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा छ भने निर्देशक भट्टराई र दीपकराज गिरीले फिल्मको पटकथा तयार पारेका छन् । फिल्मको संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर लेखेका छन् ।
दीर्घ गुरुङद्वारा छायांकन गरिएको फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा आदि कलाकारले अभिनय गरेका छन् ।