आजदेखि नेपाली नयाँ वर्ष २०७५ प्रारम्भ

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं- आज विक्रम संवत् २०७५ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।
सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।
आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलतारअसफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् ।
यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम विसं शास्त्रीय संवत भएको बताउँछन् । उनका अनुसार सौरमान र चान्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत नै विसं हो, विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो ।
नयाँ वर्षका अवसरमा काठमाडौंको उत्तरी भेगस्थित बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा रहेको वाग्द्वार वागमती नदीको उद्गमस्थलमा विशेष स्नान मेला लाग्छ । यसैगरी टोखा चण्डेश्वरीको सपनतीर्थ र कीर्तिपुरस्थित चम्पादेवीमा पनि मेला लाग्ने गरेको छ ।
काठमाडौंको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा आजका दिन स्नान गरेमा कुष्ठ रोग एवम् लुलो लङ्गडोपना हटी पुनः शारीरिक तन्दुरुस्तता प्राप्त हुने जन विश्वास छ ।
सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख सङ्क्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास रहेको छ ।
नयाँ वर्षकै अवसरमा भक्तपुरमा एक साता लामो बिस्केट जात्रा मनाइन्छ । यो जात्रा वैशाख १ गते नै उत्कर्षमा पुग्छ । बिस्केट जात्रा देशका अन्य भागमा पनि मनाउने चलन छ । उपत्यकामा साँखु र टोखामा समेत बिस्केट जात्रा मनाइन्छ । यस बाहेकका जिल्लामा चैत मसान्तका दिन लिङ्गो ठड्याई वैशाख १ गते ढलाउने गरिन्छ ।
पछिल्ला केही वर्षदेखि नव वर्ष शुरु हुने दिन अर्थात् वैशाख १ गते पशुपतिनाथ मन्दिरमा भीड लाग्न थालेपछि दर्शन एवम् पूजा आजा गर्नेका लागि विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।