भूकम्पले दु:खी बनाएको राष्ट्रपतिको भनाइ

प्रधानमन्त्री ओलीको धरहरा निर्माणलाई अगाडि बढाउने प्रतिबद्धता
-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षअघि आज (वैशाख १२) कै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पुर्‍याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको उल्लेख गर्नु भएको छ । राष्ट्रपति भण्डारीले बुधबार ट्वीट गर्दै पुनःनिर्माणमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुका साथै विपत्तिमा अमूल्य जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ । साथै, घाइते र पीडितमा गहिरो माया व्यक्त गरेको राष्ट्रपति भण्डारीको ट्वीटमा उल्लेख छ।
उता, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धरहरा निर्माणलाई सक्दो चाँडो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले अब देश समृद्धि र विकासको बाटोमा अगाडि बढेको बताउँदै धरहरा निर्माणसँगै भूकम्पपछिको नवनिर्माण र पुनःनिर्माणमा सहयोग गर्न सबैसँग अपिल गर्नु भयो । ‘हाम्रो कलात्मकता र सुन्दरतालाई कायम राख्दै पुरानै शैलीमा, भूकम्प आउँदा पनि नभत्किने बलियो धरहरा, रानीपोखरी, काष्ठमण्डप तथा वसन्तपुरका सांस्कृतिक संरचनालगायत अन्य संरचना निर्माणमा सरकार जुटेको छ’– प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्रीले आगामी दिनमा सरकारले सत्ताभन्दा पनि जनता बलियो हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उक्त अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँका भत्किएका घरको पुनःनिर्माणसँगै पुराना घरसमेत भत्काउनुपर्ने आवश्यकता औँल्याउनु भयो ।
तीन वर्षअघि आजकै दिन गएको विनाशकारी भूकम्पका कारण ३१ जिल्लामध्ये १४ जिल्ला अतिप्रभावित बनेका थिए । वैशाख १२ गतेको भूकम्प र त्यसपछि गएका पराकम्पका कारण आठ हजार ९७९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए । भूकम्पका कारण करीब रु सात खर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो ।