उभौली पर्व मनाइदै
-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
बिगतमा जस्तै यस पटक पनि तामांग सोसाइटी अफ एनएस डब्लुले सिड्नीमा उभौली पर्व आयोजना गर्ने भएको छ । यहि मे ५ शनिबारका दिन टेम्पे स्थित गफ विट्लह्याम पार्क अर्लउडमा दिउसोको १२ देखि सुरु हुने उभौलि पर्वको प्रमूख आकर्षणको रुपमा सदा झैँ प्राकृतिक पुजा, सकेवा, सखेवा, सिमे, भूमे, फोल्स्यन्दर, च्याबुंग, साकेला तथा केलाङ्ग नाच लगाएत अन्य मनोरन्जनात्मक कार्यक्रमका साथ मनाइने भएको छ । उभौलीलाई समुदाय, ठाउ र भाषागत भिन्नता अनुसार विभिन्न नामले पुकारिन्छ । चाम्लिङले साकेला, वान्तावाले साकेवा तथा साकेन्वा, सुनुवारले फोलष्यान्दर, लिम्बूले चासोक, दुमीले तोसी वा तोसु जस्ता नामले सम्बोधन गर्ने गरेको पाइन्छ।
किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायत जातिले भूमिको पूजा गरी महान् चाडका रूपमा देश तथा विदेशमा उभौली मनाउने गर्दछन। पूजापछि पूजास्थलकै वरिपरि सामूहिक रूपमा विभिन्न परम्परागत बाजा बजाएर नाच्ने गरिन्छ । उभौली पर्वमा नाच्दा जातीय पहिचान भल्काउने पहिरन लगाइन्छ । पुरुषहरू कालो कोट, खागीको कपडा, अल्लोको धागोबाट बुनिएको कपडाबाट निर्मित दौरासुरुवाल, टोपी, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा खुकुरी, हातमा चौँरीको पुच्छर, सिन्कौली सेउली हल्लाउंदै, ढोल, झ्याम्टा बजाऊँदै नाच्ने गर्छन् । नाच्ने क्रममा हातखुट्टाको चाल र हाउभाउको माध्यमबाट ढोल, झ्याम्टाको तालमा विभिन्न जीव, जनावर, पशुपक्षी, चराचुरुङ्गीको नक्कल, खोरिया फांडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली काटेको, उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ ।
कृषि प्रधान देश नेपालमा अन्नबाली राम्रो होस् , पानी परोस्, कीरा, फट्याँङ्ग्रा तथा जङ्गली जनावरले दुःख नदिउन्, सबैमा सुख, शान्ति, सुस्वास्थ्य, दैवीप्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाइन्छ । तराईतिर गर्मी बढेर माछा, पशुपक्षी, चराचुरुङ्गी, कीरा फट्याङ्ग्रासमेत उभो चिसो लेकतिर बसाइँ सर्छ भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाइने पर्वलाई उभौली भनिएको हो । प्रवासमा रहेर पनि मनाइने यस्ता पर्व हरुले समाजमा सामाजिक, साँस्कृतिक सद्भाव, आपसी सम्बन्ध र मेलमिलाप कायम गर्नुका साथै आफ्नो मौलिक संस्कृति र परम्पराको प्रबर्धन तथा संरक्षण हुने कुरा किराँत खम्बु राई सोसाईटीका महासचिब राम सिप्तुंखा राइले द नेपाली टाईम्स अष्ट्रेलियालाई जानकारी दिए ।