उभौली पर्व मनाइदै
-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
बिगतमा जस्तै यस पटक पनि किराँत सोसाइटी अफ एनएसडब्लुले सिड्नीमा उभौली पर्व आयोजना गर्दैछ । यहि मे ५ शनिबारका दिन टेम्पे स्थित गफ विट्लह्याम पार्क अर्लउडमा दिउसोको १२ बजेदेखि शुरु हुने उभौलि पर्वको प्रमुख आकर्षणको रुपमा प्राकृतिक पुजा, सकेवा, सखेवा, सिमे, भूमे, फोल्स्यन्दर, च्याबुंग, साकेला तथा केलाङ नाच लगाएत अन्य मनोरन्जनात्मक कार्यक्रमका साथ मनाइने भएको छ । उभौलीलाई समुदाय, ठाउँ र भाषागत भिन्नता अनुसार विभिन्न नामले पुकारिन्छ । चाम्लिङले साकेला, वान्तावाले साकेवा तथा साकेन्वा, सुनुवारले फोलष्यान्दर, लिम्बूले चासोक, दुमीले तोसी वा तोसु जस्ता नामले सम्बोधन गर्ने गरेको पाइन्छ ।
किराँत समुदायका राई, लिम्बू, याक्खा, सुनुवार लगायत जातिले भूमिको पूजा गरी महान् चाडका रूपमा देश तथा विदेशमा उभौली मनाउने गर्दछन् । पूजा पछि पूजा स्थलकै वरिपरि सामूहिक रूपमा विभिन्न परम्परागत बाजा बजाएर नाच्ने गरिन्छ । उभौली पर्वमा नाच्दा जातीय पहिचान भल्काउने पहिरन लगाइन्छ । पुरुषहरू कालो कोट, खागीको कपडा, अल्लोको धागोबाट बुनिएको कपडाबाट निर्मित दौरा सुरुवाल, टोपी, पटुका, बिनायो, मुर्चुङा, बुकिफूल, कम्मरमा खुकुरी, हातमा चौंरीको पुच्छर, सिन्कौली सेउली हल्लाऊँदै, ढोल, झ्याम्टा बजा ऊँदै नाच्ने गर्छन् । नाच्ने क्रममा हातखुट्टाको चाल र हाउभाउको माध्यमबाट ढोल, झ्याम्टाको तालमा विभिन्न जीव, जनावर, पशुपंक्षी, चराचुरुङीको नक्कल, खोरिया फांडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली काटेको, उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ । कृषि प्रधान देश नेपालमा अन्नबाली राम्रो होस्, पानी परोस्, कीरा, फट्याङा तथा जङली जनावरले दुःख नदिउन्, सबैमा सुख, शान्ति, सुस्वास्थ्य, दैवीप्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाइन्छ । तराईतिर गर्मी बढेर माछा, पशुपंक्षी, चराचुरुङी, कीरा फट्याङा समेत उभो चिसो लेकतिर बसाई सर्छ भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाइने पर्वलाई उभौली भनिएको हो । प्रवासमा रहेर पनि मनाइने यस्ता पर्व हरुले समाजमा सामाजिक, सांस्कृतिक सद्भाव, आपसी सम्बन्ध र मेलमिलाप कायम गर्नु का साथै आफ्नो मौलिक संस्कृति र परम्परा को प्रबर्धन तथा संरक्षण हुने कुरा किराँत खुम्बु राई सोसाईटीका महासचिव राम सिप्तुंखा राईले नेपाली टाईम्सलाई जानकारी दिदै सिड्नी वरपरका सबै दाजु-भाइ दिदि-बैनीहरुलाई सहभागिताका लागि हार्दिक अनुरोध गरेका छन् ।