धावक बैकुण्ठ मानन्धर चितवन समाज अस्ट्रेलियाद्वारा सम्मानित
-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
प्रसिद्ध म्याराथुन धावक बैकुण्ठ मानन्धरलाइ चितवन समाज अस्ट्रेलियाले एक पद यात्राको आयोजना गरि सम्मान गर्दै २५०० डलर आर्थिक सहयोग पनि गरेको छ । गत ५ मे २०१८ का दिन शान्तिको लागि पदयात्रा नाम दिई नेपाली समुदायका सदस्यहरु संग संगै पदयात्र गर्ने उद्देश्यले चितवन समाज अस्ट्रेलियाले बैकुण्ठ मानन्धरलाइ अष्ट्रेलिया निम्त्याएको थियो। सिड्नी स्थित ओलम्पीक पार्क परिसर भित्र पर्ने पवेल क्रिक रिजर्वमा आयोजित उक्त शान्ति पदयात्रामा नेपाली समुदायका करिब २०० जनाले सहभागिता जनाएका थिए । बिहान करिव ९ बजे देखि सुरु गरिएको पद यात्रा एक घण्टा पश्चात छोटो औपचारिक कार्यक्रम राखिएको थियो।
कर्यक्रमा बोल्दै धावक बैकुण्ठ मानन्धरले नेपालको खेलकुद जगतमा थुप्रै समस्या रहेको र सरकारले यसको उचित सम्बोधन गर्नको लागि जिम्मेवार बन्नु पर्ने बताए । प्रै समस्याका बाबजूद पनि आफु मिहिनेत गरेर सफलता प्राप्त गरेको अनुभव सुनाउदै युवा पुस्ताले देशको माया मार्न नहुने बताए । देशका गौरव खेलाडीहरु विदेशमा खेल्न जादा भाग्ने परम्पराको स्मरण गर्दै सरकारले खेलाडीहरुको बर्गिकरण गरि उचित सम्मान दिनु पर्ने बताए। साधारण परिवारमा जन्मेका तर असाधारण प्रतिभाका धनि बैकुण्ठ मानन्धरले सन् १९८७ को दक्षिण एशियन खेलमा म्याराथुन खेल अन्तर्गत ४२.१९५ किलोमीटर दौड २ घण्टा १५ मिनेट र ३ सेकन्डमा पुरा गरि किर्तिमान कायम गरेका थिए जुन अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन ।

खेलाडीहरु राष्ट्रका गौरब हुन्, उनीहरु नेपालको झन्डा फहाराउदै विभिन्न देशहरुमा आफ्नो मातृभूमिको प्रतिनिधित्व गरे, त्यसको हामीले उचित कदर र सम्मान गर्नु पर्छ भन्ने सोची चितवन समाज अस्ट्रेलियाले बैकुण्ठ मानन्धरलाइ सम्मान स्वरूप अस्ट्रेलिया निमंत्रना गर्ने निर्णय गरि सक्दो आर्थिक सहयोग पनि गरेको जानकारी चितवन समाज अस्ट्रेलियाका अध्यक्ष छबि सापकोटाले द नेपाली टाईम्स अष्ट्रेलियालाई जानकारी दिए ।
चितवन समाज अस्ट्रेलियाका अध्यक्ष छबि सापकोटाको अध्यक्षतामा आयोजित संक्षिप्त औपचारिक कार्यक्रममा पुर्व अध्यक्ष बुद्दी डल्लाकोटीले सहभागी सबैलाइ स्वागत गरेका थिए । संस्थाका उपाध्यक्ष अनिल पोख्रेलद्वारा संचालित यस कार्यक्रममा सन्जिब पाण्डे, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ, एनआरसी अध्यक्ष बिष्णु हमाल एनआरएनए आइसीसी संरक्षक इन्द्र बन तथा न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्य दुत दिपक खड्काले स्वास्थ्य जीवनका लागि खेलकूद र खेल जगतमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको प्रसंशा गरेका थिए ।