रहेनन् चर्चित फुटबलर

आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान मणि शाहको ५१ वर्षको उमेरमा निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा हिजो साँझ ५ बजेर ४२ मिनेटमा उनको निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
नेपाली फुटबलमा ‘नेपाली म्याराडोना’का रूपमा चिनिएका शाह लामो समयदेखि कलेजोको समस्याले ग्रस्त थिए । आइतबार साँझ ज्वरो आएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनको पार्थिक शरीरलाई श्रद्धाञ्जलीका लागि आज मंगलबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको थियो ।
शाहका श्रीमती र एक छोरी छन् ।
अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष कर्माछिरिङ शेर्पाले लिजेन्ड फुटबलर मणि शाहको निधनले नेपाली फुटबलमा अपुरणीय क्षति पुगेको बताए । शाहसँगै फुटबल खेलेका एन्फाका पूर्वअध्यक्ष गणेश थापाले मणि शाह नेपालको मात्र नभएर दक्षिण एसियाकै असाधारण खेलाडी भएको बताए ।
सन् १९८४ देखि १९९८ सम्म लगातार १३ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहले १० अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् १९९८ को एसियाली खेलकुदमा नेपालको झन्डा बोक्ने सौभाग्य पाएका शाह एसियाली खेलकुदमा देशको झन्डा बोक्ने अहिलेसम्मकै एक मात्र फुटबलर हुन् ।
दिवंगत शाहको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।