जेल गए गोरे

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

विराटनगर– ३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको छ। उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको हो ।
चार दिन लामो बन्द इजलासमा भएको बयानपछि हिजो आइतबार नै थुनछेक बहस भएको थियो । जिल्ला न्यायाधिवक्ता पुण्य पाठकले सरकारको पक्षमा र वकिल यमबहादुर मगरले गोरेका पक्षमा बहस गरेका थिए । सुन प्रकरण र हत्याको अभियोगमा जिल्ला अदालत मोरङले एसएसपीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा यसअघि नै पठाइसकेको छ । न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले उनलाई थुना पठाउने आदेश दिएको हो ।
यसैबीच तस्करीको साढे ३३ केजी सुन गायब भएपछि ज्यान गुमाएका उर्लाबारीका सनम शाक्यको हत्या आफूले नगरेको मुख्य अभियुक्त गोरेले दाबी गरेका छन् । जिल्ला अदालत मोरङमा बयान दिने क्रममा उनले आफूले सामान्य केरकार गर्न मात्रै भनेको दाबी गरेका हुन् । उनले आफू नभएको मौका पारेर सनमलगायतलाई लाक्पा, टेकबहादुर र सुरेन्द्रले कुटपिट गरेको उल्लेख गरेका छन् ।