हिलाम्ये वर्षा रोकिएन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– तीन दिन अघिदेखि काठमाडौं लगायत देशका धेरै भागमा हिलो मिसिएको वर्षा हुने क्रममा जारी छ । त्यस्तो वर्षाका कारण घरको छत तथा बोट विरुवा हिलाम्ये भएका छन् ।
वर्षाले वायुमण्डलमा रहेको प्रदुषण र धुँवा धुलो झारेपछि यस्तो असर देखिएको मौसमविद्हरुको भनाइ छ । भारतको राजस्थान आसपासको मरुभूमिमा केहि दिन देखि चलेको हुरीले नेपालको वायु मण्डलमा भित्र्र्‍याएको धुँलोको कणलाई वर्षाले पखाल्दा यस्तो प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जमिनको सतहबाट २ किलोमिटर उचाई आसपासको वायुमण्डलमा कुहिरो झैं फैलिएको धुलोको कणलाई वर्षाले पखालेको हो । राजस्थान आसपासबाट धुलो मिश्रित प्रदुषित बादल नेपाल भित्रिँदा फरक प्रकृतिको वर्षा भए पनि जनस्वास्थ्यलाई ठूलो असर भने नपुर्‍याउने विभागको भनाइछ ।
विभागका महानिर्देशक डा। ऋषिराम शर्माका अनुसार वायुमण्डलमा गाडी र औद्योगिक कलकारखानाबाट निस्किने प्रदुषणको मात्रा उच्च भएका बेला वर्षा भयो भने त्यसले स्वास्थ्य र वोट विरुवालाई असर पुर्‍याउन सक्छ, क्यान्सर समेत हुन सक्छ, तर अहिलेको वर्षा त्यस्तो विषाक्त भने होइन ।
हिलो मिश्रित धमिलो वर्षाको प्रभाव मुलुकको कुन भेगमा कस्तो रह्यो भन्नेबारेमा विभाग अनविज्ञ छ । विभाग मातहतका वर्षा मापन स्टेसनले पानीको मात्रा मात्रै मापन गर्ने भएकाले त्यस्तो सूचना अद्यावधिक कठिनाई भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिलाम्ये वर्षाको प्रभाव नेपालमा मात्रै होइन, पाकिस्तानका अधिकांश भेग र बंगलादेशमा परेको छ । भारतको गुजरात, राजस्थान, दिल्ली, पञ्जाव, हरियाणामा प्रत्यक्ष देखिएको छ भने भारतकै उत्तर प्रदेश, उत्तराखण्ड र हिमाञ्चलमा समेत परेको बताइएको छ ।