नेपाली सधै नेपाली नै हुन्छ : मन्त्री रविन्द्र अधिकारी

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

अमेरिका–पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्बोधन गर्दै नेपाली सधैं नेपाली नै हुने, भुतपुर्व अथवा वर्तमान नहुने धारणा व्यक्त गर्नु भएको छ । गैर आवासिय नेपाली संघ तथा एनआरएनए अमेरिकाद्वारा आयोजित विज्ञ सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले उक्त अभिव्यक्ति दिनु भएको हो ।
‘हामी नेपाली जहाँ बसे पनि नेपाली नै हौं, मन्त्री अधिकारीले भन्नुभयो–‘देश बनाउने क्षमता नेपालमा भएका नेपालीले मात्र पुग्दैन, गैरआवासीय नेपालीहरुको सहयोग र सकृयता पनि चाहिन्छ । अब तपाई यता (विदेश) र उता (नेपाल) बस्ने सबै नेपाली हातेमालो गरेर अगाडि बढ्ने हो । तपाईँहरु सबै धनी र सम्पन्न हुनु भयो भने पनि देश सम्पन्न हुन सकेन भने सुखी र खुसी हुन सक्नुहुन्न । त्यसैले देशलाई समृद्ध बनाउने काममा हामी सबै लाग्नु जरुरी छ ।’
वर्तमान सरकारकै एक जना मन्त्रीले केही समय अघि विदेशमा स्थायी रुपमा वस्ने नेपालीलाई भुतपुर्व नेपाली हुन भनेको विषयप्रति अमेरिकाका नेपालीहरुले आक्रोस व्यक्त गर्दै मन्त्री अधिकारीलाई यसबारेमा प्रश्न उठाएका थिए ।
‘सरकारले विदेशमा बस्ने नेपालीको दक्षतालाई राम्रो संग बुझेको छ, मन्त्री अधिकारीले भन्नुभयो —‘हामी संविधानमा उल्लेखित एनआरएन नागरिकता दिने प्रावधानप्रति प्रतिवद्ध छौं । आउने वर्ष भित्र आवश्यक कानुन तयार भएर आउँछ ।’ उहाँले सरकार एनआरएनलाई साथ लिएर हिड्न तयार रहेको पनि स्पष्ट पार्नुभयो ।
नेपाली जनसम्पर्क समितिका पुर्व संयोजक विष्णु सुवेदीले वर्तमान सरकारका मन्त्रीले विदेशमा वस्ने नेपालीलाई पुर्व नेपाली भनेकोमा आपत्ति जनाउँदै सरकारको धारणा राख्न भनेका थिए । सहभागीहरुले पनि यस विषयमा बोल्न मन्त्री अधिकारीलाई आग्रह गरेका थिए ।
पूर्व परराष्ट्र तथा अर्थ मन्त्री डा प्रकाशचन्द्र लोहनीले एनआरएनलाई कुन प्रकृयाबाट उपयोग गर्ने यो स्पष्ट गरेर जाँदा नेपाललाई फाइदा हुने बताउनुभयो । पुर्व मन्त्री डा.लोहनीले देशको स्वतन्त्रता, नेपालमा भएका मानवअधिकारका हनन जस्ता विषयमा पनि आवाज उठाएर विदेशमा बस्ने नेपालीले विगतमा पनि दवाव दिदै आएको र आगामी दिनमा पनि निरन्तरता दिनु पर्ने बताउनु भयो । पूर्व पर्यटन राज्यमन्त्री रेवती प्रसाद भुसालले नेपाली कुनै पद होइन जुन पूर्व र वर्तमान हुन सकोस् यो त भावना र संस्कृति भएकाले कानूनी जस्तो हैसियत फेरिने कुरै होइन भन्नुभयो ।
अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्कीले सम्बोधनका क्रममा आफू अमेरिकाको अस्थायी राजदुत भएको तर यहाँ बस्ने गैरआवासीय नेपालीहरु स्थायी राजदुत भएको बताउनु भयो । उहाँले नेपालीहरुले विभिन्न देशको विकास र समृद्धिमा योगदान दिइरहनु भएको छ भने नेपालको समृध्दिमा योगदान दिन सक्ने कुरामा कुनै शंका छैन भन्नु भयो ।
एनआरएनएका अध्यक्ष भवन भट्टले सबै हात एकै साथको भावना अनुसार बढ्ने बेला भएको बताउँदै यसको सुरुवात सरकारले प्रधानमन्त्रीको राजकीय भ्रमणहरुमा एनआरएनएलाई सहभागी गराएर गरेको हामीले अनुभुति गरेका छौं भन्नुभयो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्चका कृष्ण लामिछाने जनसम्पर्क समिति अमेरिकाका विष्णु सुवेदी, एनआरएनए क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्ले, अमेरिकाका उपाध्यक्ष उमाकान्ति थापाले पनि सम्बोधन गर्नु भएको थियो भने अमेरिकाजका क्षेत्रीय संयोजक गौरी जोशीको सभापतित्वमा भएको उद्घाटन समारोहमा अमेरिकाका अध्यक्ष डा केशव पौडेलले स्वागत र आइसिसि सदस्य डिल्ली भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न विषयका ३० जना विज्ञले शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास, समाजिक क्षेत्र लगायतका विषयमा विदेशमा बसेर प्राप्त ज्ञानलाई कार्यपत्रका रुपमा प्रस्तुत गर्नु भएको थियो । नेपालले विदेशका नेपालीहरुले आर्जित यी दक्षता र क्षमतालाई कसरी नेपालीमा लैजान सकिन्छ यस विषयमा छलफलहरु भएका थिए ।