चीन भ्रमण सोचभन्दा उपलब्धिमूलक : प्रधानमन्त्री

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी हिजो स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गर्नु भएको थियो । प्रधानमन्त्री ओली छ दिनअघि प्रस्थान गर्नुभएको थियो ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको छ दिने औपचारिक भ्रमण सोचेको भन्दा उपलब्धिमूलक रहेको बताउनु भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङलगायत उच्च पदाधिकारी, विज्ञ, व्यापारी उद्यमी र लगानीकर्तासँग भेटघाट र छलफल गर्नु भएको थियो
त्यस अवसरमा दुब देशका सरकारबीच १० वटा सम्झौता र चारवटा ‘लेटर अफ इन्टेन्ट’मा हस्ताक्षर भए, जसमा बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्गको अध्ययनसमेत समेटिएको छ । यसअघि आठवटा व्यावसायिक परियोजनामा लगानी गर्नेसम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भए । भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीले भ्रमण उपलब्धिमूलक भएको र आपसी सहयोगको दायरा फराकिलो बनेको बताउनु भएको हो ।