राजदूत नियुक्तिमा नयाँ निर्देशिका

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– सरकारले कुनै पनि देशमा राजदूत रिक्त हुनु तीन महिना अगाडि नै नयाँ राजदूत नियुक्तिको प्रक्रिया थाल्ने भएको छ । राजदूत पद रिक्त भएपछि प्रक्रिया थाल्दा नियुक्तिमा ढिलाइ हुने तथा दुतावासका काम ठप्प हुने हुँदा सरकारले राजदूत नियुक्तिको प्रक्रिया रिक्त हुनुभन्दा तीन महिना अगाडि देखि थाल्ने गरी परराष्ट्र मन्त्रालयले निर्देशिका तयार गरेको हो ।
निर्देशिकालाई असार २४ गतेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार मन्त्रालयले राजदूत नियुक्तिका लागि प्रारम्भिक अध्ययन गरी सम्भावित उम्मेदवारहरुको टुंगो लगाउने छ । त्यसरी प्रारम्भिक उम्मेदवारहरुको छनोट गर्दा परराष्ट्र सेवा र सामाजिक काममा संलग्नतालाई हेरिन्छ ।
अब राजदूत नियुक्तिका लागि न्यूतम शैक्षिक योग्यता स्नातक हुनुपर्ने छ । त्यस्तै विदेशी नागरिकता नलिएको हुनुपर्ने छ। साथै कुटनीतिक अनुभवलाई समेत जोड दिइएको छ। राजदूतका लागि सिफारिस गर्दा कुन देशका लागि सिफारिस गर्ने हो, त्यस देशमा नेपालको तर्फबाट सम्पादन हुने कामको ज्ञान आवश्यक पर्ने छ। त्यस्तै एनजिओमा काम गर्नेलाई सिफारिस गरिने छैन । कुनै पनि विदेशी संस्थामा काम गर्ने, अन्य देशको प्रतिनिधिको रुपमा काम गर्ने व्यक्ति राजदूत हुन योग्य हुने छैन। साथै यसरी पहिला काम गरेको भए अवकाश लिएको १० वर्षभन्दा बढी भएको हुनुपर्ने छ ।
यसैबीच राजदूतलाई प्रधानमन्त्रीले सपथ खुवाउने व्यवस्था निर्देशिकाले गरेको छ । राष्ट्रपतिबाट राजदूत नियुक्त भएसँगै सम्बन्धित देशमा जानु अगाडि राजदूतले प्रधानमन्त्रीसँग सपथ लिनु पर्नेछ ।