अपहरित बालक मृत फेला, अपहरणकारी पनि मारिए

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– ११ वर्षीय बालकलाई अपहरण गरी हत्या गर्ने दुई जना अपहरणकारी सोमबार प्रहरी इन्काउन्टरमा मारिएका छन् । काठमाडौंको काँडाघारीबाट हिजो आइतबार बालक निशान खड्काको अपहरणमा संलग्न नुवाकोट गोपाल तामाङ तथा सिन्धुपाल्चोक कर्थलीका वर्षीय अजय तामाङको प्रहरी इन्काउन्टरमा मृत्यु भएको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनाएको छ । इन्काउटरमा परेका तामाङद्वय नै अपहरणकारी भएको दावी प्रहरीको छ ।
प्रहरीले उनीहरु साथबाट एउटा एक थान पेस्तोल र २ राउण्ड गोली तथा फिरौती माग्न प्रयोग गरिएको सीमकार्ड तथा मोवाईल पनि फेला पारेको छ । त्यसअघि अपरान्ह साढे १२ बजे भक्तपुरको ठिमी नगरपालिका–९ स्थित एक निर्माणाधीन घरमा बालकको शव प्रहरीले फेला पारेको थियो । अपहरणकारी भक्तपुरको पाईलट बाबा जंगलतर्फ भागेको सुचना लगतै महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सुर्यविनायक नगरपालिका–८ मा उनीहरुलाई भेट्टायो । सर्च अप्रेसनमा खटिएको टोलीलाई देख्नेवित्तिकै अपहरणकारीले गोली प्रहार गर्न खोजेपछि फाइरिङ गर्नुपरेको महानगरीय अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीेले बताएका छन् ।
आइतबार अपरान्ह साढे ४ बजे काँडाघारीस्थित डेरा नजिकबाट अपहरणमा परे लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र अपराध महाशाखाको टोलीले ‘सर्च एण्ड रेस्क्यु अपरेशन’ चलाएको थियो । सिन्धुपाल्चोक ज्यामिरे स्थायी घरभएका खड्का आमा चमेलीको साथमा काँडाघारीमा बस्थे । उनका बुबा गणेशबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन् । बेलुका ६ बजेसम्म बालक घर नआएपछि उनको खोजी सुरु गरिएको थियो । राति ९ बजे पहिलो पटक अपहरणकारीले फोन गरेर फिरौती मागेका थिए । अपहरणकारीले बालकको परिवारसँग ४० लाख रुपैयाँ फिरौती मागेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको महाशाखाका एसपी उप्रेतीले बताउनुभयो ।