संविधान सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान लचिलो रहेको र यसले संशोधन र समायोजनको विशेषता बोकेको बताएका छन् । संविधानबारे काठमाडौंमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको हिजो सोमबार समापन गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधान समृद्ध नेपाल र सुखी नेपालीको सपना देख्ने आधार भएको बताए । प्रधानमन्त्री ओलीले संविधान नै हाम्रो वर्तमान र भविष्यको दृष्टिकोण भएकोले लोकतान्त्रिक मूल्य–मान्यता मार्फत समाजवादमा पुग्ने पनि यही संविधान मार्फत भएको बताए ।
प्रधानमन्त्रीले संविधान सबैखाले विभेदलाई अन्त्य गर्ने विविधता बीच एकताको दस्तावेज रहेको र यसले सबैलाई समेटेको दाबी गरे । उनले भने(ुसंविधान समावेशी र लोकतान्त्रिक छ । ७० वर्षको प्रजातान्त्रिक इतिहासमा सबैभन्दा राम्रो संविधान बनेको छ ।
तीन दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरी शुरु भएकोे सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संविधानविद्, न्यायविद्, राजनीतिज्ञ, विश्लेषक, अर्थशास्त्री, अभियन्ता, विधिशास्त्र र संविधानवादका ज्ञाता सहभागी थिए । काठमाडौं विश्वविद्यालय स्कुल अफ लका डिन विपिन अधिकारीले सम्मेलनको निष्कर्ष प्रस्तुत गरेका थिए ।
सम्मेलनको आयोजना काठमाडौं विश्वविद्यालय स्कूल अफ ल र साउथएशिया ट्रष्टले संयुक्त रुपमा आयोजना गरेका हुन् ।