प्रकाण्डलाई संगठित अपराधको मुद्दा

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा पुर्व मन्त्री खड्बहादुर विश्वकर्मा प्रकाण्डलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले तीन दिनको म्यादसहित अनुसन्धानका लागि थुनामा राख्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई अनुमति दिएको छ । चार दिनअघि सर्वोच्च अदालत परिसरबाटै पक्राउ परेका विश्वकर्मालाई अदालतले प्रहरीले मागेअनुसारकै म्याद दिएको हो ।
यसअघि पनि उक्त पार्टीका दुई जना पोलिटब्युरो सदस्य एउटै अपराधमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रविराज खड्काले बताएका छन् । उनका अनुसार उनीहरुको म्याद पनि आज सोमबार थप्नुपर्ने भएकाले विकलाई पनि एउटै म्यादभित्र समायोजन गर्ने गरी उक्त म्याद मागिएको हो ।

यसैबीच प्रकाण्डमाथि तिन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । गैरकानुनी थुनामा राखिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिइएको अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले बताएका छन् ।

प्रहरीले विश्वकर्मालाई जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्वर ६ चौकीडाँडा स्थित कुन्साङ्ग लामा तथा उनको समुहले संचालन गरेको क्रसर उद्योगमा ६० र ७० जनाको अपरिचित नकाब लगाएको समुहले टिपर र स्काभेटर समेतमा आगजनी गरी ३ करोड बराबरको क्षति पुर्‍याएको र सोहि स्थानमा कुकर बम समेत फेला पारेको अभियोग लगाएको छ । विश्वकर्माबाट बरामद भएको डायरीमा कुन्साङ्गको क्रसर आगलागीबाट १० करोड भन्दा धेरै क्षति भएको उल्लेख गरिएको प्रहरीले मुचुल्का तयार गरेको छ ।