नेपाल-अष्ट्रेलिया परामर्श संयन्त्रको पहिलो बैठक सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपाल-अष्ट्रेलिया परामर्श संयन्त्रको पहिलो बैठक काठमाडौमा बसेको छ । नेपाल र अष्ट्रेललयाबीच सन् २०१७ को जुलाईमा स्थापना भएको संयन्त्रको पहिलो बैठक काठमाडौंमा बसेको हो ।
बैठकको उद्घाटन गदै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले नेपाल र अष्ट्रेलियाबीच रहिआएको सौहार्दपूर्ण सम्बन्धको चर्चा गर्दै दुई देशबिचको आपसी सम्बन्ध अझ प्रभावकारी बनाउन अपनाउन सकिने रणनीतिका विषयमा आफ्नो विचार राखेका थिए । उनले नेपाल सरकारको वर्तमान परराष्टर नीति तथा विकासका प्राथमिकताबारे प्रकाश पारेका थिए ।
अष्ट्रेलियाको परराष्ट्र तथा व्यापार विभागका सहायक सचिव एवम् अष्ट्रेलियन टोलीका प्रमुख एन्ड्रयू कोलिन्सले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि अत्यान्त राम्रो सम्बन्ध रहीआएको सन्दर्भ उल्लेख गर्दै नेपालको विकासमा सहयोग गर्न तत्पर रहेको जानकारी दिए । उनले नेपाल र अष्ट्रेलियाले एक अर्कालाई विभिन्न अन्तर्राष्ट्रिय फोरममा समेत सहयोग गरिरहेको जानकारी अवगत गराए ।
कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले पनि आफ्नो भनाई राखेका थिए । राजदूत शेर्पाले उत्कृष्ट शैक्षिक गन्तब्यका रूपमा रहेको अष्ट्रेलियामा नेपाली विद्यार्थीले भोग्नुपरेको केही समस्या र चुनौतीका विषयमा कुरा राख्दै यसको समाधानका लागि अष्ट्रेलिया सरकारले अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि काठमाडौंमै परामर्स केन्द्र खोल्न सुझाव दिइन् ।
अष्ट्रेलियामा नेपालीको संख्या बढ्दै गइरहेको भन्दै भिसा प्रक्रियामा सहज र सरल बनाउन एवम् काठमाडौंस्थित अष्ट्रेलियन दूतावासबाटै भिसा दिने व्यस्था मिलाउन माग गरिन् ।
अष्ट्रेलियामा जाने नेपाली विद्यार्थीलाई सहयोग गर्न तयार रहेको भन्दै नेपालका लागि अष्ट्रेलियाली राजदूत बडले यस विषयमा अष्ट्रेलिया सरकार र सम्बन्धित निकायमा छलफल गरेर ठोष कार्ययोजना ल्याउने विश्वास दिलाए ।
कार्यक्रममा दुई देशका प्रतिनिधिमण्डलबीच नेपाल-अष्ट्रेलिया सम्बन्धलाई अझ प्रगाढ र प्रभावकारी बनाउन द्विपक्षीय महत्वका विषयमा छलफल भएको थियो ।
विशेष गरी उच्च स्तरीय भ्रमण आदानप्रदान, व्यापार लगानी, पर्यटन, मानव संशाधन विकास, उर्जा र शिक्षा जस्ता क्षेत्रमा एक अर्काबीच सहयोग र सहकार्य गरिने विषयमा छलफल भएको थियो ।