भुटानमाथि नेपालको फराकिलो जीत

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– सुजुकी कप साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले दोस्रो खेलमा बिहिबार शानदार जित निकालेको छ । बंगलादेशको ढाकामा खेलिएको खेलमा नेपालले भुटानलाई ४–० गोलअन्तरले हराएको हो ।
उक्त जीतसंगै नेपालले भुटानसँग नहारेको रेकर्ड यथावत राखेको छ । नेपालको जितमा अनन्त तामाङ, सुनील बल, भरत खवास र नीराजन खड्काले गोल गरेका हुन् । यो जितले नेपालको साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने संभावना पनि बन्यो । अन्तिम खेलमा नेपालको सामना आयोजक राष्ट्र बंगलादेससँग हुनेछ ।
नेपालले २१औं मिनेटमा सुनीलको कर्नर प्रहारमा अनन्तले गोल गरेका थिए । सुनीलको प्रहार आउना वितिकै उफ्रेर हेड गर्दै अनन्तले गोल गरेका थिए । पहिलो हाफ १–० को अग्रतामा समाप्त भएको थियो । नेपाली खेलाडीले दोस्रो हाफमा भुटानमाथि दवाव बढाएका थिए । नतिजा नेपाल थप ३ गोल गर्न सफल भयो ।
७०औं मिनेटमा सुनीलले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए । नीराजनलाई निमा वाङदीले डिबक्समा लडाएपछि नेपाललाई पेनाल्टी हान्न अवसर मिलेको थियो । जसमा नेपालका स्टार खेलाडी विमल घर्तीमगरले पेनाल्टी हाने । तर उनको प्रहारलाई गोलकिपर छिरिङ डेन्डुपले रोके । बल रिबाउन्ड भयो र सुनीलले गोल गरेका थिए । योे उनको तेस्रो अन्तर्राष्ट्रिय खेलमा पहिलो गोल पनि हो ।
भरतलाई प्रशिक्षक बालगोपाल महर्जनले ढिलो मैदानमा पठाएका थिए । तर उनले नेपालको लागि तुरुन्तै गोल पनि गरे । मैदान आएर ३ मिनेटपछि ७९औं मिनेटमा उनले गोल गरेका थिए । उनको यो करियरको १०औं अन्तर्राष्ट्रिय गोल हो । अन्तिममा नीराजनले पनि एक गोल थपे । करिब ५ वर्षको अन्तरालमा राष्ट्रिय टोलीमा स्थान पाएकोमा उनले सदुपयोग गरे । उनी ६३औं मिनेटमा विशाल राईको स्थानमा मैदान आएका थिए ।
समूह ए अन्तर्गत अर्को खेल आयोजक टिम बंगलादेसले पाकिस्तानलाई १–० ले हराएर सेमिफाइनलको स्थान सुरक्षित गरेको छ । यो नतिजासँगै बंगलादेस ६ अंकसहित अन्तिम चारमा पुग्यो । नेपाल र पाकिस्तानको समान ३र३ अंक भएकोले दुबैको लागि शनिबार हुने खेल जित्नै पर्ने भएको छ ।
नेपालले बंगलादेससँग र पाकिस्तानले भुटानसँग खेल्नेछन् । नेपालको लागि जितभन्दा तलको नतिजाले प्रतियोगिताबाट बाहिरिने संभावना हुन्छ । यसैले नेपालले बंगलादेसलाई हराउनै पर्ने चर्को दवाव भएको छ । नेपाल जितेमा पाकिस्तान र भुटानबीचको खेलको नतिजा कुर्नु पर्दैन ।
यदि बराबरी खेलेमा नेपाल सेमिफाइनल पुग्नका लागि भुटानले पाकिस्तानलाई हराउनु पर्ने हुन्छ । यहाँ गोलभिन्नताले पनि नेपाललाई समूह चरण पार गराउन सक्नेछ ।