निर्मलाको पक्षमा न्याय माग्दै देशव्यापी प्रदर्शन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५२ दिन पुगिसक्दा समेत बलात्कारी तथा हत्यारा को हो भन्ने पुष्टि हुन नसक्दा प्रहरी प्रशासनसहित सरकारविरुद्धको आन्दोलन सशक्त हुने सम्भावना बढेको छ । निर्मलाको हत्यामा उच्चस्तरीय अनुसन्धान कमिटीले प्रहरीको लापरबाही भएको निष्कर्ष निकालेपछि र अभिभावकले पनि प्रहरीले प्रमाण नष्ट गरेको आरोप लगाएपछि घटनाले नयाँ रुप लिएको हो ।
गत साउन ११ गते कञ्चनपुर नगरपालिकाको वडा नम्बर १९ स्थित उखुबारीमा बीभत्स ढंगले हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो । उनलाई बलात्कारपछि हत्या गरिएको थियो । साउन १० गते उनी पढ्न भनी साथी रोशनी भनिने आँचल बमको घरमा गएकी थिइन् । रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । तर, लामो समयसम्म बम दिदीबहिनीलाई स्थानीय प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थिएन । रोशनीको घरबाट उनी आफ्नो घरमा जान पाइनन् । तर रोशनी हाजिर जमानी र बबिता ३० हजार रुपियाँ धरौटीमा छुटेकी हुन् । निर्मलाका अभिभावकले प्रहरीले प्रमाण नष्ट गरेको बताउँदै आएका छन् । न्याय माग्न काठमाडौं धाएका उनका बुबा यज्ञराज र आमा दुर्गादेवीले दोषीलाई कानुन कठघरामा नउभ्याउँदासम्म घर नफर्किने बताउनुभएको छ । उहाँहरुले गृहमन्त्री रामबहादुर थापालाई भेटिसक्नुभएको छ । भेटमा गृहमन्त्री थापाले दोषीलाई कारबाही गर्ने आश्वासन दिएको दाबी गरिएको छ ।
यसैबच निर्मलालाई न्याय दिन माग गर्दै राजधानी लगायत देशभर प्रदर्शन भइरहेको छ । शनिबार माइतीघर मण्डलाबाट शुरु भएको विरोध प्रदर्शन बानेश्वर पुगेर सभामा परिणत भएको थियो । जुलुसमा निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवीसमेत पुग्नुभएको थियो ।
बागलुङमा पनि निर्मला पन्तको न्यायका लागि हस्ताक्षर संकलनसँगैं दीप प्रज्वलन गरिएको छ । निर्मलाको हत्या भएको ५२ दिन वितिसक्दा पनि अपराधी पत्ता नलागेको र प्रहरी प्रशासनले हत्यारा पत्ता लगाउँन तदारुकता नदेखाएको भन्दैं दबावस्वरुप शनिबार देशव्यापी रुपमा आयोजना गरिएको आयोजक निर्मलाका निम्ति न्यायका बागलुङ संयोजक साधना पन्तले बताइन् । सरकारले अपराधीलाई पक्राउ गरेर कारबाही गर्न नसकेको विरोधमा देशव्यापी भइरहेको विरोधमा नेपालगञ्जले पनि एक्यबद्धता जनाएको छ । ‘निर्मलाका निम्ति न्याय’ भन्दै शनिबार आँखामा कालो पट्टी बाँधेर प्रदर्शन गरियो । बिहान कोहलपुर र अपरान्ह नेपालगञ्जमा ‘पीडितलाई न्याय दे, अपराधीलाई कारबाही गर’ भन्दै नाराबाजी गरिएको थियो । विद्यार्थी, युवा र नागरिक समाजका अगुवा स्वस्फूर्त जम्मा भई दश मिनेटमा आँखामा पट्टी बाँधेर विरोध गरेका थिए ।
बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्यायको माग गर्दै शनिबार म्याग्दीमा विरोध प्रदर्शन भएको छ । निर्मला पन्तको न्यायको माग राख्दै देशैभरी महिला तथा बालबालिकामाथि भैरहेको हिंसा, बलात्कार र हत्याको विरोधमा म्याग्दीका महिलाहरुले सदरमुकाम बेनीमा विरोध र्‍याली आयोजना गरेका हुन् । र्‍यालीमा सहभागी महिलाहरुले बलात्कार र हत्याको विरुद्धमा चर्को रुपमा आवाज उठाएका छन् । उनीहरुले बलात्कारीलाई सामाजिक बहिष्कार गरौं, महिलालाई रेप होइन सेभ गरौं, दोषीलाई कडा कार्वाही गर, शान्तिसुरक्षा कायम गर, महिलामैत्री कानुन तत्काल कार्यान्वयन गर्नुपर्ने र कानुनी राज्यको स्थापना हुनुपर्ने जस्ता नाराहरु लगाएका थिए । महिलाहरुले टाउकोमा कालो पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका थिए ।