डार्बिनमा पहिलो चोटी गौरा पर्व मनाइयो 

-- कृष्ण रानाभाट | नेपाली टाईम्स अष्ट्रेलिया ?>
अष्टेलियाको डार्बिनमा पहिलो पटक सुदुर पश्चिमेली समुदायका नेपालीहरुले  १५ सेप्टेम्बरको साँझ अनौपचारिक उल्लासमय बाताबरणमा गौरा पर्ब मनाए । करिब ४ दर्जन सहभागी बीच सम्पन्न उक्त कार्यक्रममा सुदुर पश्चिमेली दाजुभाईहरुले दिदि वहिनीहरुले एक आपसमा खुसी साटासाट गर्दै र गाउँ ठाउँ सम्झदै गौरा पर्ब मनाएको कार्यक्रमको संयोजन गरेका  दिनेश जंग शाहीले बताए । गौरा पर्ब नेपालको सुदुर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आइरहेको गौरा पर्व भाद्र शुक्लको षष्ठी तिथि देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौरा घरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।
(फोट- दिनेश जंग शाहीबाट प्राप्त )