आज घटस्थापना, विधिवत रुपमा जमरा राख्दै दसैं प्रारम्भ

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं–दसैंको पहिलो दिन आज घटस्थापना नेपालीको घरघरमा जमरा राखेर मनाइँदैछ । विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो । प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदादेखि प्रारम्भ हुने नेपालीको ठूलो चाड दसैं घरघरमा जमरा भित्राएसँगै प्रारम्भ हुने गर्दछ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ ।
घर शुद्ध भएपछि मात्र देवीको आगमन हुने मान्यता संगै आज बिहानैबाट नुहाएर घरहसफा गरेर गाईको गोबरले लिपपोत गरि शुद्ध बनाएर सजाउने गरिन्छ । यो प्रक्रिया पश्चात नवरात्रि शुरु भएको मानिन्छ । घटस्थापनाको दिन बिशेष बिधि संगै जौ, गहु र मकैलाइ माटोमा छरिन्छ र टिकाको साइतमा फूलको रूपमा प्रयोग गरिन्छ । घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ । आज बिहान सवा ७ बजेको उत्तम साइतमा हनुमानढोकाको दशैंघरमा घटस्थापना गरी जमरा राखिएको छ ।