बहुदलीय व्यवस्थालाई जीवनपद्धतिका रूपमा विकास गर्नु पर्छ : शेरबहादुर देउवा, सभापति नेपाली काँग्रेस
विगत पाँच दशकभन्दा लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा नेपाली कांग्रेसको हालै सम्पन्न तेह्राैं महाधिवेसनबाट सभापतिमा निर्वाचित भएका छन् । सभापति निर्वाचित भएपछि पार्टीको आन्तरिकदेखि वाह्य गतिविधिमा सक्रिय रहँदै आएका देउवालाई एकातिर सभापति पदमा निर्वाचित भएपछि बधाइ खान भ्याइ नभ्याइ छ भने अर्कोतिर कांग्रेसको संसदीय दलको नेता छनोट पनि उनको टाउको दुखाइको विषय बनेको छ । यसबीच नवनिर्वाचित सभापति देउवाले संविधान कार्यान्वयनको जिम्मेवारीलाई आफ्नो पार्टीले पूरा गर्ने धारणा व्यक्त गरेका छन् । हालै सम्पन्न महाधिवेनबाट पार्टीको सर्वोच्च पदमा आसिन हुन सफल देउवाले संविधान जारी गर्ने नेतृत्वदायी भूमिका खेलेको कांग्रेसले त्यसको सफल कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । सभापतिमा निर्वाचन भए लगत्तै देउवाले द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधिसंग संक्षिप्त अन्तर्वार्ता दिँदै आफ्ना भावी योजनाहरू सुनाएका छन् । अन्तर्वार्ताको सम्पादित अंश :
पहिलो पटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचन हुनु भएको छ, कस्तो अनुभव गरिरहनु भएको छ ?
वास्तवमा यो नेपाली कांग्रेसको आन्तरिक चुनाव हो । त्यसैले यसमा हार–जीत हुँदैमा धेरै खुशी र दुखी हुनुपर्ने छैन । अर्कोतिर मुलुकको सबैभन्दा ठूलोपार्टीको सभापति निर्वाचित भएपछि प्राकृतिक रुपमै एउटा गहन जिम्मेवारी बढेको अनुभव गरिरहेको छु ।
सभापतिमा निर्वाचित भैसकेपछि अब नेपाली कांग्रेसलाई कसरी अघि बढाउनु हुन्छ ?
हामी सबैले बुझेको महत्वपूर्ण कुरा के हो भने कुनै पनि पार्टी ‘टिमवर्क’ ले चल्छ । पार्टीका सबै नेताहरू मिलेर यसलाई चलाउने हो । म सभापति पदमा निर्वाचित भए पनि सबै मिलेर पार्टीलाई अघि बढाउने हो । सभापति भएको हिसावले मैले चाहिं लामो समयदेखि रोकिएका कामहरूलाई पहिलो प्राथमिकता दिने योजना बनाएको छु ।
त्यसरी रोकिएका कामहरू के–के छन् ?
पहिलो काम भनेको भातृ संस्थाको अधिवेशन गराउनु पर्नेछ । उक्त अधिवेशन नभएकै झन्डै एक दशक हुन लागेछ । भातृ संस्था पनि कांग्रेसकै शाखा जस्तै हुन् । कांग्रेसलाई चलाउन पनि भातृ संस्थाहरूलाई गतिशिल बनाउनु पर्छ । त्यसैले तरुण दल, महिला संघ, नेविसंघ आदिको अधिवेशन आगामी छ महिना भित्रमा गरिसक्ने लक्ष्य लिएको छु ।
नेपाली कांग्रेसमा अब भागवण्डाको राजनीति सकिएको हो ?
एक प्रकारले भन्ने हो भने सकिएकै हो । अब हामी शत प्रतिशतको कांग्रेस हौं । अब हामी भागवण्डाको आधारमा नभइ नेता तथा कार्यकर्ताको योग्यता, क्षमता तथा योगदानका आधारमा मूल्यांकन गर्नु पर्छ । म सबैलाई न्याय हुने गरी मूल्यांकनको पद्धती विकास गर्दैछु ।
तपाईंले हराउनु भएका रामचन्द्र पौडेल पक्षलाई कसरी समेट्नु हुन्छ ?
पार्टीको आन्तरिक प्रतिस्पर्धामा जित र हार हुनु स्वभाविक हो । उहाँ पार्टीको वरिष्ठ नेता हुनुहुन्छ । पार्टीमा उहाँको भूमिका पनि त्यही अनुसारकै हुन्छ । रामचन्द्र पौडेलको मात्र होइन कृष्णप्रसाद सिटौलाज्यूको पनि पार्टीमा ठूलो योगदान छ । पदाधिकारीमा पराजित सबैलाई जिम्वेवारी दिने काम भैरहेको छ ।
तपाई सभापतिमा निर्वाचित भए लगत्तै सरकार परिवर्तनको चर्चा थियो, अहिले त्यो चर्चा त्यसै सेलायो नि ?
तत्काललाई त्यो सम्भावना छैन । सरकार परिवर्तन हुन प्रधानमन्त्रीले संसदमा अल्पमतमा पर्नु पर्छ । यदि सरकारलाई दिएको समर्थन फिर्ता लियो भने त्यो अवस्था नआउलाभन्न सकिन्न ।
कांग्रेस नयाँ सभापतिलाई भावी प्रधानमन्त्रीका रुपमा पनि हेरिएको थियो, यसबारेमा तपाईं के भन्नु हुन्छ ?
मलाई अहिले प्रधानमन्त्रीमा कुनै रुची छैन । म देशमा तीनपटक प्रधानमन्त्री भइसकेको मान्छे, मलाई कुनै हतार छैन । पार्टीलाई एक बनाएर लोकतन्त्रलाई अझ सदृढीकरण गर्ने मेरो योजना छ । त्यसलै प्रभावकारी विपक्षीको भूमिकामा हामी हुन्छौं । विपक्षी बलियो भयो भने न लोकतन्त्र बलियो हुन्छ ।
कांग्रेसको संसदीय दलको नेताको विवाद कसरी मिलाउनु हुन्छ ?
चाँडै नै दलको नेता चयन हुन्छ । त्यसका लागि सकभर सर्वसम्मत गराउने गरी ‘सिनियर’ साथिहरूसंग छलफल गरिरहेको छु । चाँडै कुनै निष्कर्ष निकाल्ने प्रयास गर्नेछु । भरखरै मात्र विधान संशोधन गरेर मात्रै संसदीय दलको निर्वाचन गराउनु पर्ने मागमा म सहमत भएको छु । पार्टीका पूर्व कार्यवहाक सभापति रामचन्द्र पौडेल पक्षले विधान संशोधन नगरी संसदीय दलको निर्वाचन गर्न नहुने माग राखेपछि यो निर्णय गरिएको हो ।
महाधिवेनअघि सभापतिको उम्मेदवारका रूपमा तपाईंसंग सार्वजनिक गरेको एजेन्डाहरू कसरी पुरा गर्दै हुनुहुन्छ ?
बहुदलीय व्यवस्थालाई जीवनपद्धतिका रूपमा विकास गरेर पूर्ण समावेशी र पूर्ण लोकतान्त्रिक पार्टी बनाउने मेरो प्रतिबद्धता छ । पार्टी सभापति भएपछि म अहिले कांग्रेसलाई एक बनाउने र मुलुकमा देखिएका विकृति, विसंगतिलगायत समस्या समाधान गर्ने कार्यलाई मूर्त रुप दिँदैछु ।
ती एजेन्डा पुरा गर्ने आधारहरू के के छन् ?
सबै जाति तथा समुदायका मुद्दा सम्बोधन गरेर मुलुक सबैको आफ्नो हो भन्नेअनुभूति दिलाउने मेरो धेरै पहिलादेखिको सपना हो । म पार्टीमा न्याय र सम्मान दिलाउन सभापति बनेको हुँ । नेता—कार्यकर्ताको मूल्यांकन गरेर त्यसको आधारमा न्याय गर्ने पद्धति विकास गरेर कांग्रेसलाई चलायमान पार्टी बनाउने योजनासहित म अघि बढेको छु ।
सभापतिमा विजयी भएपछिको अवस्थामा समावेशीकरणको मुद्दालाई कसरी अघि बढाउनु हुन्छ ?
लोकतन्त्र भनेकै समाजमा जुन समुदाय अथवा जाति बढी पछाडि परेको छ, उसको हितमा काम गर्ने हो । हामी लोकतन्त्रको नारा बोक्ने अनि पछाडि परेका समुदायलाई अधिकार दिन अघि बढेनौं भने समग्र मुलुकको विकास कसरी हुन्छ ? म मुलुकका सामाजिक संरचना देखेरै समावेशीकरण लागू गर्नुपर्छ भन्ने निर्णयमा पुगेको हुँ । म मुलुकमा समावेशीकरणको मुद्दालाई सही रुपमा कार्वान्वयन गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु ।
तपाईंले समावेशीकरणमा हालसम्म गरेका उल्लेखनीय प्रयासहरू के—के छन् ?
राजनीतिक दलभित्र आरक्षणको थालनी गर्ने पहिलो व्यक्ति मै हुँ । अहिले सबै राजनीतिक दलहरूले आरक्षण लागू गरेका छन् । सरकारमा भन्ने हो भने मैले नै महिला, दलित, जनजाति, मधेसी आयोग गठन गरेर उनीहरूको समस्या समाधान गर्ने प्रयास थालेको हुँ । मैले कदमज (कर्णाली, दलित, महिला, मधेसी र जनजाति) को नारा ल्याएर समावेशीकरणलाई प्रोत्साहन गरेको हुँ । अझै पछाडि परेका समुदायको उत्थानका लागि मैले काम गर्न बाँकी नै छ । त्यतिबेला मैले समावेशीकरण ल्याएँ भनेर थुप्रै मान्छेहरू मसंग रिसाएका पनि थिए । अहिले यही समावेशीकरण सबैको प्राथमिकता बनेको छ ।
नयाँ संविधान अनुसारको प्रदेश संरचनामा कांग्रेसलाई कसरी लैजाने योजना बनाउनु भएको छ ?
हाम्रो पार्टीको विधानमा प्रत्येक अञ्चलबाट एक—एक जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था थियो, तर अहिले प्रदेश आयो । त्यसपछि विधानको बाधा–अड्काउ फुकाउ प्रावधानअनुसार हामीले प्रत्येक अञ्चलको सट्टा प्रदेशबाट दुई–दुईजना सदस्य निर्वाचित हुने प्रावधान बनायौं ।
नेपाली कांग्रेसको प्रदेश संरचना चाहिँ कहिले बन्छ ?
भरखरै महाधिवेसन सकिएको छ । अब हामी छिट्टै प्रदेश संरचनाका विषयमा महासमिति बैठक बोलाएर विधान संशोधन गर्दैछौं ।
नयाँ संविधानका विषयमा मधेसमा देखिएको असन्तुष्टिलाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?
सभापतिमा निर्वाचित हुनुभन्दा अघि नै मैले भनेको कुरा पुन: दोहोर्याउँदै छु । मधेसमा देखिएका सीमांकनलगायतका मुद्दाहरू समाधान गरेर छोड्नेछु । संविधानको पहिलो संशोधन पनि मैले धेरै दबाब गरेपछि भएको हो । मसंग मधेसको समस्या समाधान गर्ने आफ्नै योजना छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...