नेपाल फेस्टिभलको तयारी पूरा

इमिग्रेसनमन्त्री डेविडले उद्घाटन गर्ने
-- गोपाल छन्त्याल ?>

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा भोलीदेखि सुरु हुने नेपाल फेस्टिभलको सम्पूर्ण तयारी पूरा भएको छ । फेस्टिभलको पूर्वसन्ध्यामा बिहिबार साँझ आयोजक एनआरएनए अष्ट्रेलियाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रमको आन्तरिक र बाह्य सम्पूर्ण तयारी पूरा भएको जानकारी गराईएको हो । एनआरएनए अष्टेलियाका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक नन्द गुरुङले फेस्टिभलको प्रमुख अतिथिका रुपमा अष्टेलियन सरकारका केन्द्रीय इमिग्रेसन तथा सिटिजनसिप मन्त्री डेविड कोल्म्यान आउने जानकारी दिए । ‘कार्यक्रमका लागि हामीले गर्नुपर्ने सम्पूर्ण तयारी गरेका छौँ, तयारीका लागि गठित विभिन्न् उपसमितिले आ–आफ्नो काम गरिसकेका छन्’, उनले भने, ‘कार्यक्रममा अष्ट्रेलियन सरकारका केन्द्रीय मन्त्री नै आउने भएपछि यहाँ नेपालीले भोग्नुपरेका समस्याहरुका बारेमा समेत जानकारी गराउनेछौँ ।’

रोजगार र अध्ययनका सिलसिलामा अष्टे«लियामा रहेको नेपालीहरुको महत्वपूर्ण पर्वको रुपमा सन् २००६ देखि सञ्चालन हुदै आएको फेस्टिभललाई सफल बनाउन यसपटक विभिन्न ३३ वटा उपसमिति बनाईएको थियो । सिड्नीको मूख्य पर्यटकीय गन्तव्य डार्लिङ हार्वरमा हुने कार्यक्रमका लागि हप्तादिनको मेहनेत पछि तीन दर्जन भन्दा बढी नेपाली झण्डा फहराईएको छ । कार्यक्रमका प्रचार–प्रसार संयोजक प्रतिज्ञा अधिकारीले नेपाली कला–सँस्कृतिबारे जानकारी साथै प्रवासमा नेपाली स्वाभीमानलाई उच्च बनाउन कार्यक्रमस्थलमा झण्डाको प्रयोग गरिएको बताइन् ।

कार्यक्रम संयोजक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गर्दै एनआरएनएका प्रवक्ता डिला खरेलले कार्यक्रममा राखिने विभिन्न ३३ वटा स्टल र पहिचानका रुपमा नेपाल घर निर्माण गरिसकेको जानकारी दिए । हिमाल, पहाड र तराइका कला सँस्कृति, रहनसहन र परिकारहरु नेपाल घरको विशेषता हुने आयोजकको दाबी छ । पत्रकार सम्मेलन प्रमुख अतिथि न्यू बेल्स राज्यका कन्सुलेट जनरल दीपक खड्काले प्रवासमा नेपाली झण्डा मुनी बसेर कार्यक्रम सञ्चालन हुनु गर्वको विषय भएको बताए । शनिबार कार्यक्रम सञ्चालन हुनुभन्दा अघि नेपाली पहिरनमा सजिएर विशेष ¥याली (परेड) निकालिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधी, प्रबुद्ध व्यक्तित्व र प्रायोजकहरुको उपस्थिति थियो ।


   आइपुगे कलाकारहरु
फेस्टिभललाई भव्य बनाउन नेपालबाट विभिन्न विधाका कलाकारहरु सिड्नी आइपुगेका छन् । उनीहरु सबै पत्रकार सम्मेलनमा उपस्थित थिए । ख्याती प्राप्त गायक राजेश पायल राई, पशुपति शर्मा, तिर्सना गुरुङ, विश्व नेपाली र नायिक आँचल शर्माले विशेष प्रस्तुती दिने कार्यक्रम तय भएको छ । हरेक २ बर्षमा मनाईदै आएको फेस्टिभल यसबर्ष सिड्नीका अतिरिक्त मेलर्वन पनि मनाईदैछ । नोभेम्बर १६ मा ब्रिसवेनमा मनाइसकेको छ । डिसेम्बर १५ तारिखमा मेर्लवनमा मनाएर कार्यक्रम सम्पन्न हुने बताईएको छ ।