मस्तिष्कघातले नेपाली विद्यार्थीको मृत्यु, शव नेपाल पठाउन समस्या

-- गोपाल छन्त्याल/नेपाली टाईम्स अष्ट्रेलिया ?>

सिड्नी–उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आएको दुई महिनामै एक नेपाली विद्यार्थीको मस्तिष्कघातका कारण निधन भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ का २० बर्षीय मिलन तामाङको उपचारका क्रममा बुधबार निधन भएको हो । मिलनको मृत्युपछि उनको शब नेपाल पठाउन आर्थिक समस्या भएको छ । अहिले उनको शब सिड्नीस्थित वेष्टमेड अस्पतालमै छ । परिवारजनले मिलनको पार्थिव शरिर घरमै ल्याउन चाहेपनि आर्थिक र कानुनी प्रक्रिया पु¥याउन समस्या भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

अध्ययनसँगै परिवारजनका लागि आर्थिक उपार्जन गर्ने योजना सहित आएको छोराको मृत्युको खबरले तामाङ परिवार स्तब्ध बनेको छ । परिवारजनको आग्रहमा सिड्नीमा रहेको तामाङ सोसाइटी अफ एनएसडब्लुले शुक्रबारबाट आर्थिक संकलन अभियान सुरु गरेको छ । मिलनको शब अस्पतालबाट निकाल्न पुरा गर्नुपर्ने कानुनी प्रक्रिया र नेपाल पठाउन चाहिने रकम जुटाउने उद्देश्यले अभियान सुरु गरिएको सोसाइटीका सल्लाहकार दिल तामाङले जानकारी दिए । ‘समस्यामा परेको परिवारलाई राहत होस् भनेर हामीले अभियान चलाएका छौँ, यसमा चौतर्फी सहयोगको अपेक्षा गरेका छौँ । सहयोगका लागि Account Name : Tamang Society of NS, BSB:112-879, Account No. : 474333739 मा इच्छा अनुसार रकम जम्मा गर्न सकिने सोसाइटीद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाईएको छ ।