डा.केसीले तोडे अनसन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं-प्रा.डा. गोविन्द केसीले २४ दिन लामो आमरण अनसन अन्त्य गरेका छन् ।
चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरिसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् ।

डा.केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

डा.केसीले असिमित सम्बन्धनलाई कानुनी बैधता दिने गरी पास भएको विधेयक अहिलेकै अवस्थामा स्वीकार्य नहुनेसमेत बताएका छन् ।

अनसन तोड्दै गर्दा डा. केसीले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा संस्थागत र व्यक्तिगत इमान र विश्वसनीयता नभएको बताएका छन् । साथै विधेयक पास गर्न सरकारले अधिनायकवादी प्रवृत्ति देखाएको भन्दै उनले भनेका छन्, ‘यसरी पारित भएको ऐन हामीलाई स्वीकार्य छैन ।’

उनले अनसन तोड्न आग्रह गर्ने नागरिक अगुवा, माथेमा कार्यदल र आवासीय चिकित्सकहरुलाई धन्यवाद पनि दिएका छन् ।