मेलम्चीको ठेकेदार सिएमसीसँगको सम्झौता रद्द

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालीको कम्पनी सिएमसीको ठेक्का सम्झौता रद्द गरेको छ । पछिल्लो समय एकतर्फीरुपमा काम गर्न नसक्ने भन्दै आयोजनाबाट फिर्ता भएको उक्त कम्पनीसँग गरिएको सम्झौता बिहीबार रद्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । सिएमसीले गत २९ मङ्सिरमा आयोजना स्थल छाडेर गएपछि राष्ट्रिय गौरवको मेलम्ची आयोजनामा अन्योल थपिएको थियो ।

आयोजनाको निर्माण कार्य सम्पन्न नहुँदै मेलम्ची खानेपानी विकास समितिलाई कुनै पनि जानकारी नदिइ आयोजना स्थल छाडेर हिँडेपछि ठेक्का रद्द किन नगर्ने भन्दै १४ दिनभित्र जवाफ पठाउन समितिले ६ माघमा इटालियन कम्पनी सिएमसीलाई पत्राचार गरेको थियो । आयोजनाले पछिल्लोपटक ठेकेदार कम्पनीलाई थप गरेको समयसीमा समेत यही २७ माघमा सकिदैं थियो ।

तर, तोकिएको अवधिभित्र आधिकारिक जवाफ नआएपछि ठेक्का रद्दको निर्णय गरिएको हो । ठेक्का सम्झौता रद्द नगर्दा थप अन्योल उत्पन्न हुने र सरकारले फिर्ता लिएको बैंक ग्यारेन्टी रकमसमेत गुम्न सक्ने जोखिम रहेको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीको रु दुई अर्ब ६५ करोड बराबरको बैंक ग्यारेन्टी छ ।

ठेक्का तोडिएको अवस्थामा आयोजनाको बाँकी काम सम्पन्न गर्न समितिले सरकारसमक्ष विकल्पसहितको प्रस्ताव तयार पार्ने कार्यकारी निर्देशक कँडेलले बताए । यसबारे आयोजनाको मुख्य लगानीकर्ता एशियाली विकास बैंकले समेत आवश्यक सुझाव दिएको बताइएको छ । संघीय संसद्को विकास समिति, अर्थ समितिलगायतले पनि उपयुक्त विकल्प खोजेर आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।

ठेकेदारले एकतर्फीरुपका काम गर्न नसक्ने भन्दै फिर्ता भएपछि स्थानीय निर्माण सामग्री आपूर्ति कर्तासमेत समस्यामा परेका छन् । उनीहरुले आफूहरुले पाउनुपर्ने भुक्तानी समयमै उपलब्ध गराइदिन खानेपानीमन्त्री बिना मगरसँग आग्रह गरेका छन् ।