५४ वर्षको उमेरमा आमा, टेस्टट्यूबबाट जन्मिए जुम्ल्याहा

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- काठमाडौंकी ५४ वर्षीया एक महिलाले गत आइतबार अल्का अस्पताल जाउलाखेलमा जुम्ल्याहा टेस्टट्युब बेबी जन्माउनु भएको छ, त्यो पनि महिनावारी सुकेको चार वर्षपछि ।

ती नवजात शिशुमध्ये छोरा १ दशमलव ४ केजी र छोरी १ दशमलव ६ केजीका छन् । दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

महिनावारी सुकेको ४ वर्षपछि आमा बन्न सक्छु कि सक्दिनँ भनेर एक वर्षअघि आईभी एफ तथा प्रसूति विशेषज्ञ डा.नूतन शर्माको क्लिनिकमा पुग्नुभएकी ती महिलालाई उहाँको टोलीले बेस्ट ट्रिटमेन्ट गरेर २ सन्तानकी आमा बनाई अपार खुसी दिएर पठाएको छ ।

महिनावारी बन्द भएपछि बच्चा जन्माउनु निकै ठूलो चुनौती र आश्चर्यको कुरा हो । तर अल्का अस्पतालमा सञ्चालित आईभीएफ टेस्टट्युब बेबी विभागका प्रमुख तथा स्त्रीरोग विशेषज्ञ डा. शर्माको टोली त्यसमा सफल भएको छ।

ती महिलालाई औषधिको माध्यमबाट पुनः महिनावारी गराई पाठेघर सक्रिय पारेर ८ महिनाअघि टेस्टट्युब बेबी राख्ने प्रक्रिया अपनाइएको थियो ।

डा.शर्मा भन्नुहुन्छ– ‘ती महिलाको जिन्दगीको सबैभन्दा ठूलो पीडा विवाहपछि सन्तान प्राप्तिक नहुँदाको थियो ।’

डा.शर्माका अनुसार उहाँको उपचार शुरू गरेको ३ महिनामा नै सफलतापूर्वक गर्भ बस्यो । ८ महिनाको हुँदा २ सातादेखि उच्च रक्तचाप बढेकाले ५ दिन अस्पताल भर्ना गरी प्रत्यक्ष निगरानीमा राखियो । तर सुधार नआएकाले बच्चालाई खतरा नहोस् भनेर आकस्मिक शल्यक्रिया गरी जुम्ल्याहा बच्चा निकाल्यौं ।’

५४ बर्षको महिलाले टेस्ट्युब बेबी जन्माएको यो सम्भवतः नेपालमै पहिलोपटक हो । विश्वमा टेस्ट्युब बेबी सफलता दर ३५ प्रतिशत मात्र रहेको अवस्थामा नेपालमा महिनावारीसमेत रोकिइसकेकी महिलामा पहिलोपटकमै बच्चा बस्नु निकै ठूलो उपलब्धि भएको डा.शर्मा बताउनुहुन्छ । बाँझोपनलाई उपचार गरे सन्तान हुन्छ भन्ने उदाहरणीय महत्वपूर्ण उपलब्धि हामीले प्राप्त गरेका छौं ।

मातापिता बन्न सफल दम्पतीले संसारकै सबैभन्दा ठूलो चीज पाउनमा मद्दत गर्ने सबैप्रति आभार प्रकट गर्दै खुसीका आँसु बगाए।

यो घटनापछि अल्का अस्पताल र चिकित्सक टोलीहरूप्रतिको विश्वास अझ बढेको डा. शर्माको ठम्याइ रहेको नेपाल समाचारपत्रले जनाएको छ ।