अन्तर्राष्ट्रिय यात्रु ओसार्नेमा नेपाल वायुसेवा निगम पहिलो

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- अन्तर्राष्ट्रिय यात्रु उडानमा नेपाल वायुसेवा निगम पहिलो स्थानमा पर्न सफल भएको छ । देशको राष्ट्रिय ध्वजावाहक निगमले सन् २०१८ को एक वर्षमा गरेको यात्रु उडान र अवतरणमा नेपालमा उडान गर्ने अन्य सबै वायुसेवालाई पछि पार्दै पहिलो स्थान हासिल गर्न सफल भएको हो ।

निगमले सन् २०१८ मा कुल ४ लाख ९१ हजार ९७९ यात्रु बोकेर नेपालमा उडान भरिरहेका ३० वटै वायुसेवाभन्दा आफूलाई अग्र स्थानमा पार्न सफल भएको हो ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेशी वायुसेवा बुद्ध, हिमालय र निगमले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् भने अन्य करिब डेढ दर्जन मुुलुकका विभिन्न २७ वटा वायुसेवाले नेपालमा नियमित उडान भरिरहेका छन् । यी सबै वायुसेवाले दिएको हवाई सेवाको तुलनामा निगमले सबैभन्दा धेरै यात्रु ओसारेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार उक्त अवधिमा निगमले कुल ३ हजार ५३४ उडानबाट २ लाख २४ हजार हवाई यात्रुलार्ई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट विभिन्न मुलुकतर्फ लगेको र २ लाख ४७ हजार यात्रुलाई सोही विमानस्थलबाट भित्राएको थियो ।

यसअघि सन् २०१६ मा पनि अग्रस्थानमा आएको निगम सन् २०१७ मा भने पछि परेको थियो । घट्दै गएको बजारलाई निगमले नेपालको समग्र हवाई उडानमा अहिले वार्षिक रूपमा बढाउँदै करिब ११ प्रतिशतको बजार हिस्सा उकास्न सफल भएको निगमको दाबी छ । अहिले वाइडबडी विमान ल्याइसकिएकाले यसले लामो दुरीका गन्तव्यमा उडान भर्न थालेपछि आफ्नो बजार हिस्सा थप बढाएर १७ प्रतिशत पुग्ने अपेक्षा गरिएको निगमको दाबी छ ।

निगमले हाल वाइडबडी विमान खरिद गरी यात्रुलाई सेवा दिने तयारीमा रहेको, न्यारोबडी विमानले नियमित सेवा दिइरहेकाले र अन्तर्राष्ट्रिय उडानमा यात्रु क्षमता बढी भएको विमान प्रयोग गरेकाले यात्रु उडान संख्यमा राम्रो सुधार भएको निगमले जनाएको छ ।
अहिले यो वायुसेवाले जापान, साउदी अबर, कोरिया, चीनसहितका गन्तव्यमा वाइडबडीमार्फत उडान गर्ने तयारी गरिरहेको राजधानी दैनकले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेशी वायुसेवा बुद्ध, हिमालय र निगमले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् भने अन्य करिब डेढ दर्जन मुुलुकका विभिन्न २७ वटा वायुसेवाले नेपालमा नियमित उडान भरिरहेका छन् ।

नेपालमा अन्तर्राष्ट्रिय उडान भरिरहेका वायुसेवाका यात्रु उडानका आधारमा अहिले जेट एयरवेजले ४ लाख ५० हजार ९९४ यात्रुलाई सेवा दिएर निगमपछि दोस्रो स्थान हासिल गर्न सफल भएको छ । यसैगरी, कतार एयरवेजले ३ लाख ९९ हजार यात्रुलाई सेवा दिएर तेस्रो, फ्लाई दुबाईले ३ लाख ७४ हजारलाई सेवा दिएर चौथो स्थान हासिल गर्न सफल भएको छ ।
यसैगरी, बढी यात्रु सेवा दिनेमा एयर इन्डियाले २ लाख ३७ हजार, एयर अरेबियाले २ लाख ३२ हजार, हिमालय एयरलाइन्सले २ लाख २४ हजार र कतार एयरवेजले २ लाख ५ हजार यात्रुलाई सेवा दिएका छन् ।

अन्तर्राष्ट्रिय उडानमा अब्बल बन्दै गएको निगम आन्तरिक उडानमा भने कमजोर बन्दै गएको छ । निगमले आन्तरिक उडानमा भएकै विमान पनि नियमित उडाउन नसकेको अवस्था छ । यसैगरी, आन्तरिक व्यवस्थापन मिलाउन नसकेकै कारण अझैसम्म दुईवटा वाइडवडी विमान ल्याएको करिब १० महिनासम्म पनि लामो दुरीको उडानमा जान सकेको छैन । निगमले जापान उडानका लागि यही फागुनभित्रै पुनः उडान सेवा विस्तार गर्ने योजना बनाएको थियो ।
यसैगरी, आन्तरिक उडानतर्फ भने एक वर्षमा १३ लाख यात्रु ओसारेर बुद्ध एयर पहिलो, साढे ६ लाख यात्रुलाई सेवा दिएर यती एयर दोस्रो, साढे ४ लाख यात्रुलाई सेवा दिएर श्री एयरले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । यसैगरी, सो अवधिमा १ लाख यात्रुलाई सेवा दिने सौर्य एयरभन्दा पनि पछाडि पाँचौं स्थानमा निगम परेको छ । निगमले गत वर्ष आन्तरिक उडानमा सञ्चालित नौवटा विमानबाट जम्मा ७९ हजार यात्रुलाई मात्र सेवा दिएको थियो ।