लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्ने

काठमाडौं- आगामी १५ र १६ चैतमा हुने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । प्रधानमन्त्री ओलीबाट १५ चैतमा उद्घाटन हुने सो सम्मेलनमा कुल ३८ मुलुकका करिब साढे ६ सयभन्दा बढी लगानीकर्ताले सहभागिता जनाउनेछन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले यो संख्या बढेर ७ सय जनासम्म पुग्न सक्ने बताए । बोर्डले सम्मेलनका लागि ८ सयभन्दा बढी लगानीकर्तालाई निम्तो पठाएको थियो ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने कार्यक्रम तय भएको जानकारी दिँदै उनले अहिले यस सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको बताए । कार्यकारी अधिकृत अधिकारीले सम्मेलनमा आउने विदेशी पाहुनालाई पनि काठमाडौंका विभिन्न तारे होटलमा बास बस्ने व्यवस्थासमेत मिलाइसकिएको जानकारी दिए । लगानी बोर्डका अनुसार उद्घाटन सत्रमा आठ जना वक्ता रहेछन् । सम्मेलनमा वक्ताका रूपमा भने ४० विदेशी हुने बताइएको छ ।
उद्घाटन शत्रको अध्यक्षता प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष ओलीले गर्नेछन् । सोही दिन अर्थमन्त्री डा. युवराज खतिवडा, म्यानमारका युनियन मन्त्री उ ताउन टुन, विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफर, एसियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेन, मेनहार्ड ग्रुपका कार्यकारी अध्यक्ष शाहाद नासिम, दी मुथहोट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथहोट र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी वक्ता हुनेछन् ।
समूह छलफल र प्रतिनिधित्व यसरी हुँदै छ
सोल्टी होटलमा सञ्चालन हुने सम्मेलनको उद्घाटनपछि विभिन्न समूह बनाएर लगानीसम्बन्धी छलफल गर्ने कार्यक्रम प्लेनरी सत्र सञ्चालन हुनेछ । यस सत्रमा नेपालमा लगानीका सम्भावनाका विषयमा प्रस्तुति राखिनेछ । बोर्डका अनुसार उद्घाटन सत्रपछिको सोही दिन हुने प्लेनरी सत्रमा तीन जना वक्ता रहेका छन् । जसको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने बताइएको छ । यसैगरी, अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरे र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको प्रस्तुति रहने कार्यक्रम रहेको बोर्डले जनाएको छ ।
सम्मेलन उद्घाटनका दिन हुने ऊर्जासम्बन्धी अर्को प्यानलमा छलफल हुनेछ । आर्थिक रूपान्तरणका लागि ऊर्जा उत्पादन नाम दिइएको सो सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सभाको अध्यक्षता गर्नेछन् । यसैगरी, सूचना तथा सञ्चार प्रविधिलाई छुट्टै शत्रमा राखिएको छ । यस सत्रमा डिजिटल अर्थतन्त्रका विषयमा छलफल हुनेछ । यसको अध्यक्षता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले गर्नेछन् ।
अन्य सत्रको अध्यक्षता मन्त्रीले गर्ने भए पनि पर्यटनसम्बन्धी लगानीका विषयमा छलफल हुने सत्रको अध्यक्षता राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले गर्ने कार्यक्रम तय भएको बोर्डले जनाएको छ । औद्योगिक सेसन एवं औद्योगिक आधार निर्माण र रोजागारी सिर्जनाका लागि हुने अर्को सत्रको अध्यक्षता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले गर्नेछन् । त्यसैगरी, तेस्रो सत्रमा भौतिक, पूर्वाधार तथा यातायात क्षेत्रमा लगानीका विषयमा छलफल हुनेछ । यसको अध्यक्षता भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गर्नेछन् ।
बोर्डका अनुसार यस सत्रमा मन्त्रालयकै सहसचिव गोपालप्रसाद सिग्देल, पूर्वाधार विज्ञ एन्डरियस क्रेमर, विश्व बैंकका यातायात विज्ञ अर्नब बनयोपाध्या लगायतको प्रस्तुति हुने बोर्डले जनाएको छ । सोही दिन हुने अर्को सत्रमा कृषि र वनका विषयमा लगानीसम्बन्धी प्रस्तुति राखिने बोर्डले बताएको छ । जसमा पनि कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अध्यक्षता गर्नेछन् । सो कार्यक्रममा सोही मन्त्रालयका सहसचिव योगेन्द्रकुमार कार्की, डाबर इन्डियाका बिजनेस प्रमुख हरकिरात सिंह बेदी, विज्ञ राजीव गान्धी, गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानलगायतको प्रस्तुति रहने बोर्डले जनाएको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालमा लगानी गरिरहेका लगानीकर्ताले आफ्नो अनुभव सुनाउने सत्र पनि यसै सम्मेलनमा राखिएको जानकारी दिए । उनले यस सत्रमा नेपालका तर्फबाट एसियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेनले विशेष मन्तव्य राख्ने कार्यक्रम तय भएको बताए । यसैगरी, युनिलिभर नेपालका प्रबन्ध निर्देशक आशिष राई, उद्योग वाणिज्य महासंघकी अध्यक्ष भणानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, उद्योगी नन्दलाल शर्मा, स्टान्डर्ड चार्टड बैंकका भियतनामका सीईओ निरुक्ट साप्रु, गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष डा. उपेन्द्र महतोलगायतले नेपालमा लगानीका विषयमा आआफ्ना अनुभव सुनाउने कार्यक्रम तय भएको बोर्डले जनाएको छ ।
अन्तर्राष्टिय अनुभव आदान प्रदान हुने
बोर्डका अनुसार अन्तर्राष्ट्रिय स्तरका लगानी प्रवद्र्धन इकाइहरूले आफ्नो अनुभव बाँड्ने कार्यक्रमसमेत राखिएको छ । यस सत्रमा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष हान्स पिटरले विशेष मन्तव्य राख्ने कार्यक्रम रहेको छ । उनीसँगै यूएईका वैदेशिक व्यापार सहसचिव अब्दुल अल सालेह, इनभेस्ट इन्डियाका सीईओ दीपक बाग्लालगायतका चर्चित एवं प्रतिष्ठित उद्योगी–व्यवसायीले आफ्नो अनुभव सुनाउनेछन् ।
त्यसैगरी, पूर्वाधार विकासका लागि कसरी लगानी जुटाउने भन्ने विषयमा समेत छुट्टै छलफल हुने बोर्डले जनाएको छ । बोर्डका अनुसार यस विषयमा छलफल गर्न मिगाका कार्यकारी प्रमुख केइको होन्डा, एआईआईबीका महानिर्देशक डोन ली, एलियान्ज इन्भेस्टमेन्टका उपाध्यक्ष एल्की पाइफर, एफएमओको दक्षिण एसियाली ऊर्जा विभागका प्रमुख गिरत फिज्नत, ग्यारेन्टको कम्पनीका दक्षिण एसिया निर्देशक निशान्त कुमार, एक्जिम बैंक भारतका प्रमुख प्रबन्धक स्यामु अल जोसेफ र सीडीसीका स्रिनी नागराजनले आआफ्ना धारणा राख्नेछन् ।
१६ चैतको समापन सत्रमा पनि केही वक्ता हुनेछन् । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, स्काई पावरका अध्यक्ष एवं सीईओ क्रेरी एडलर र ट्रकसेलका सीईओ कानलगायतले मन्तव्य राख्ने कार्यक्रम तय भएको बोर्डले जनाएको छ । गत १ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बसेको बोर्ड बैठकले यस सम्मेलनमा राख्ने गरी ६३ वटा आयोजनालाई सूचीकृत गर्ने निर्णय गरेको थियो । राष्ट्रिय योजना आयोगले पहिचान गरेका ४५ वटा र विभिन्न निजी क्षेत्रबाट प्रस्तावित १७ वटा गरी कुल ६३ वटा आयोजनालाई लगानी सम्मेलनमा लगानीको आह्वान गर्दै राखिने प्रमुख कार्याकारी अधिकृत अधिकारीले जानकारी दिए । सोही बैठकको निर्णयअनुसार यस सम्मेलनमा जलविद्युत्, ऊर्जा, पर्यटन, कृषि, सहरी विकासलगायतका विभिन्न क्षेत्रका ६३ आयोजना राखिनेछ ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...