ब्रुमर सञ्चालनको एक साता : हिँड्दै छ पाइला मेट्दै छ

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- राजधानीको धुलो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ब्रुमर प्रयोगमा ल्याए पनि समस्या ज्युँका त्युँ छ । रातभर ब्रुमरले सफा गरेर धुलो नियन्त्रण गर्दा समेत भोलिपल्ट उत्तिकै मात्रामा धुलो जम्मा हुने गरेको राजधानीवासीको गुनासो छ ।  धुलो समस्या समाधानका लागि महानगरपालिकाले अत्याधुनिक सफाइ यन्त्र ‘ब्रुमर’ प्रयोगमा ल्याएको छ । तर, धुलोको स्रोतलाई पहिचान गरी नियन्त्रण गर्न नसक्दा समस्या ज्युँका त्युँ देखिएको हो ।

महानगरपालिकाले इटलीमा निर्मित पाँचवटा ब्रुमर १२ चैतबाट सञ्चालनमा ल्याएको थियो । तर, वर्षाका कारण एक साता मात्र ब्रुमर सञ्चालनमा आएको छ । त्यो अवधिमा ब्रुमरले झन्डै २३० टन धुलो संकलन गरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले नगरवासीले महसुस गर्नेगरी धुलो नियन्त्रण भएको बताए । ब्रुमरको प्रयोगले धुलोको समस्या धेरै हदसम्म कम भएको उनले दाबी गरे । महानगरपालिका वातावरण विभागका संयोजक विकास डंगोल भन्छन्, ‘ब्रुमर चलेका क्षेत्रमा स्थानीयको प्रतिक्रिया सकारात्मक छ । ती स्थानमा मास्क लगााएर हिँड्नुपर्ने अवस्था भने छैन ।’

ब्रुमरले पक्की सडकको बीच भागमा धुलो हटाउने भए पनि फुटपाथ, खाल्डाखुल्डी सडकको धुलो हटाउन सक्दैन । त्यस्तै, खाल्डाखुल्डी सडक मर्मतमा ढिलाइ तथा निर्माणाधीन संरचनाको कारण निम्तिएको समस्या समाधानमा सम्बन्धित निकायको ध्यान नजाँदा धुलो नियन्त्रणमा समस्या देखिएको छ ।
वातावरणविद् डा. सुमित शाक्यले राजधानीको धुलो हटाउन सुरुमा स्रोतको पहिचान गरी यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताए । ब्रुमर यसका लागि सहयोगी हुन्छ तर यसका लागि उपयुक्त सडक सहरमा नभएको उनको भनाइ छ । नेपालमा धुलोको मात्राको मापन गर्ने उपयुक्त विधिको अभाव रहेको छ ।