एनआरएनए अष्ट्रेलियामा चुनाबी चहलपहल, निर्वाचन अधिकृत तोकियो

-- गोपाल छन्त्याल /नेपाली टाईम्स अष्ट्रेलिया ?>

सिड्नीः गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको वर्तमान कार्य समितिको म्याद आगामी जुलाईमा सकिँदैछ । म्याद सकिन लगभग तीन महिनाको अवधी बाँकी रहँदा भावी नेतृत्वलाई लिएर आन्तरिक तथा बाह्य चहलपहल सुरु भइसकेको छ । निर्वाचनको मिति घोषणा नभएपनि जुलाई भित्र निर्वाचन सम्पन्न गर्नुपर्ने वैधानिक बाध्यताका बीच अप्रिल महिनाभित्र बस्ने समितिको वैठकले निर्वाचनको सम्पूर्ण रुपरेखा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

निर्वाचनमा मिति नजिकिँदो भावी नेतृत्व सहित राज्यस्तरको संयोजकका लागि आँकाक्षीहरु सार्वजनिक हुन थालेका छन् ।निर्वाचनको मिति घोषणा नभएका कारण आँकाक्षीहरुले उम्मेद्वारी घोषणा गर्न भने सकेका छैनन् । निर्वाचनको तयारी स्वरुप एनआरएनएको १२ औँ केन्द्रीय वैठकले एनआरएनए अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसीलाई निर्वाचन अधिकृत तोकिएको एनआरएनएका प्रवक्ता डिला खरेलले जानकारी दिए ।उनका अनुसार, केसीले सबै राज्यहरुमा हुने निर्वाचनको कानुनी र व्यवस्थापकीय कार्य सम्पादनको भूमिका निर्वाह गर्नेछ ।

‘आगामी वैठकले अन्य सदस्य सहित राज्यस्तरीय निर्वाचन अधिकृत तोक्नेछौँ’, प्रवक्ता खरेलले भने, ‘हामी विस्तारै निर्वाचनमा होमिएका छौँ ।’ दुई बर्ष अघि सम्पन्न निर्वाचनमा ८ हजार २ सय ४४ मतदाता थिए भने त्यसको ६६ प्रतिशतले मात्रै मतदान गरेका थिए । निर्वाचनको पूर्वसन्ध्यामा सदस्यतालाई थप व्यवस्थित बनाउन एनआरएनएले अनलाइन मार्फत सदस्यता वितरण गरिरहेको छ । आफैले विवरण भरेर सदस्यता प्राप्त गर्न सक्ने व्यवस्थाका कारण यसपटक मतदाता बढ्ने अनुमान गरेपनि धेरै अनलाइनमा विवरण भर्दा झन्झट भएको गुनासो गरेका छन् । अनलाइन सदस्यता वितरण यहि अप्रिल ३० तारिख पछि बन्द हुने एनआरएनएले जनाएको छ ।