अब विकास र समृद्धिको यात्रा तीव्र गतिमा

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको यात्रा तीव्र गतिसाथ अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले गत वर्षले आत्मविश्वास सुदृढ बनाएको भन्दै साझा राष्ट्रिय आकांक्षा र सम्पन्न गर्नुपर्ने असंख्य कार्यसूचिसहित नयाँ वर्ष २०७६ ले स्वागत गरिरहेको समेत जनाएका छन् ।
प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा आइतबार देशवासीका नाममा सम्बोधन गर्दै गत निर्वाचनमा नेपाली जनताले स्थायित्व, शान्ति र विकासको पक्षमा मतदान गरेको चर्चा गरे ।
‘हामीले गएको एक वर्ष शान्ति, विकास र समृद्धिको नीतिगत, कानुनी र संरचनागत जग बसाल्न खर्चियौं । अब, त्यही जगमा उभिएर विकास र समृद्धिको यात्रा तीव्र गतिसाथ अघि बढाउँछौं । हामीले हाम्रा सम्पूर्ण स्रोत, साधन र प्रयास यसैमा खर्चेका छौं,’ उनले भने ।

प्रधानमन्त्रीले आफ्नो मात्रै स्रोतसाधनबाट आकांक्षा पूरा गर्न सम्भव नहुने भएकाले लगानी सम्मेलन गरेको र त्यसले बाह्य पुँजी र प्रविधि आमन्त्रण गर्न मद्दत पुर्याएको बताए ।

प्रधानमन्त्रीले मुलुकलाई ‘अतिकम विकसित मुलुक’ को टीठलाग्दो हैसियतबाट उकास्ने बताउँदै सन् २०३० मा तोकिएको दिगो विकास लक्ष्य भेट्ट्याउनैपर्ने बताए । ‘जे गर्नु छ, हामीले यही एक दशकभित्र सम्पन्न गरिसक्नुपर्छ । आउँदो १०/११ वर्षपछि आजको युवा जनसंख्या बुढ्यौलीतिर ढल्कनेछ र हाम्रो विकासको जनसांख्यिकी लाभ सकिनेछ । हामीसित समयको सीमा छ, गर्नुपर्ने काम भने असीमित छन्,’ उनले भने ।

प्रधानमन्त्री ओलीले अबको नेपाली समाजको मूल प्रवृत्ति शान्ति, एकता र विकास भएको दाबीसमेत गरेका छन् । उनले समृद्धि, सुखको आधार भएको समेत बताए । ‘सुख भनेको न्यायोचित जैविक र मानवीय आवश्यकताहरूको सहज उपलब्धता हो,’ उनले भने, ‘उच्च र दिगो उत्पादन÷उत्पादकत्व, आधुनिक पूर्वाधार र सघन अन्तरआबद्धता, मानवीय पुँजी निर्माण तथा त्यसको पूर्ण उपयोग, उच्च र समतामूलक राष्ट्रिय आय समृद्धिको सूचक हो ।’

उनले आफूले थालेको रोजगारी र लगानीका विभिन्न कार्यक्रम समृद्धिका हिस्सा रहेको र सुशासन समृद्धिका लागि पूर्वसर्त भएको उल्लेख गरे । उनले जनताको जीवनलाई सहज र सुखी बनाउन तथा धर्तीलाई सुरक्षित राख्ने आकांक्षा रहेको समेत बताए । ‘हाम्रो राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’को केन्द्रबिन्दु जनता र धर्ती (पिपुल र प्लानेट) हुन्’ उनले भने ।प्रधानमन्त्री ओलीले गत साल बेथिति र भ्रष्टाचारविरुद्धको अभियानको वर्ष रहेको समेत बताए । सुशासनको शत्रु भ्रष्टाचार रहेको र भ्रष्टचारीको मुख नहेर्ने घोषणा गरेको बताउँदै भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली हुनै नसक्ने बताए ।

‘भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर नबोल्ने– भ्रष्टाचारीलाई कारबाही गर्दा त्यसको मुख नहेर्ने’ मेरो दृढ सार्वजनिक घोषणा हो । भ्रष्टाचार र अनैतिकता हाम्रो संस्कार होइन । परम्परा होइन । हामी नेपाली मिहिनेत र पसिनाको कमाइमा विश्वास गर्छौं,’ उनले भने ।प्रधानमन्त्रीले राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट नदिने बताउँदै भ्रष्टाचार उन्मूलन गरेरै छाड्ने प्रतिबद्धता दोहो¥याए । उनले भने, ‘हामीलाई थाहा छ, भ्रष्टाचारविरुद्धको लडाइँ चुनौतीपूर्ण छ र यसले लामै समय लिन्छ । तर, जुनसुकै मूल्य चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मूलन गरी छाड्ने अभियानमा म प्रतिबद्ध छु ।’

बितेको वर्षमा मुलुकले राजनीतिक रूपमा महŒवपूर्ण उपलब्धि हासिल गरेको चर्चा गर्दै उनले अलग देश, अलग राष्ट्रिय झन्डा, अलग राष्ट्रियगान र अलग संविधानको अभियान चलाउँदै आएको समूहले नेपालको संविधानअनुरूप राजनीतिक क्रियाकलापमा सहभागी हुने घोषणा गर्नु सामान्य विषय नभएकोसमेत जनाए ।

सबैखाले अतिवाद, अशान्ति, आतंक र गडबडीबाट मुलुकलाई छिट्टै मुक्त गराइने उनले घोषणासमेत गरेका छन् । ‘अहिले, विभिन्न आवरणमा सुरु गर्न लागिएको हिंसा र अतिवाद तथा त्यसमाथि आधारित आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने राष्ट्रिय अभियान सुरु भएको छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले लामो द्वन्द्व र संक्रमणकाल अन्त्य गरेर बल्ल स्थायित्वको बाटोमा हिँड्न लागेको मुलुकमा अर्को हिंसा स्वीकार्य नहुने समेत बताए ।
‘शान्तिपूर्ण रूपमा गरिने विरोध र असहमतिलाई हाम्रो संविधानले नै प्रत्याभूत गरेको छ । तर, अवाञ्छित प्रतिगामी प्रयास र संविधानविरोधी गतिविधिहरू कडाइसाथ नियन्त्रण गरिनेछ,’ प्रधानमन्त्रीले भने, ‘यसलाई बुझेर पनि बुझ पचाउने काम नगर्न, राजनीतिक रंग दिएर हिंसालाई उचित नठह-याउन र यस सम्बन्धमा दोहोरो मापदण्ड र लोकमतको बाटो नअपनाउन म सबैलाई हार्दिक आग्रह गर्दछु ।’